नेपालका लागि बिवाइडी अटो वितरक साइमेक्स इंकले उपत्यकामा दुई नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले गौरीघाट, काठमाडौं र कुपन्डोल, ललितपुरमा दुई सेन्टर सञ्चालनमा ल्याएको हो ।
सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई थप परिष्कृत गरेर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । ४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सो अत्याधुनिक सर्भिस सेन्टरमा इलेक्ट्रिक भेहिकलका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने आठ सर्भिस वे रहेका छन् । त्यसैगरी, बेजोड सर्भिस अनुभव प्रदान गर्नका लागि स्पेयर पार्टस् वेयरहाउस रहेको छ । डेन्टपेन्ट सर्भिसका लागि डेडिकेटेड स्टेसन र ग्राहकका लागि कम्फर्टेबल लाउन्जसमेत रहेको बताइएको छ ।
ललितपुरका लागि बिवाइडीको आधिकारिक वितरक इको ड्राइभ अटोमोबाइल्स रहेको छ । आठ हजार पाँच सय ५६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो सर्भिस सेन्टरमा ६ सर्भिस वे रहेका छन् ।
यीमध्ये दुईवटा अर्जेन्ट सर्भिसका लागि प्रयोग गर्न सकिन्छ भने चारवटा स्पेसलाइज्ड इभी टुल्सद्वारा सुसज्जित छन् । परिष्कृत सर्भिस सेन्टरबाहेक साइमेक्सले आवश्यकताअनुसार इमर्जेन्सीको समयमा प्रयोग गर्न सकिने गरी रोड साइड असिस्टेन्स (आरएसए) भेइकल र सर्भिस हटलाइनको समेत व्यवस्था गरेको छ ।