एमाले संसदीय दलका नेता लीला गिरीले दिए राजीनामा
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारसँगै एमाले तथा कांग्रेस पार्टीभित्र असन्तुष्टि बढेको छ । बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएपछि प्रदेश राजधानी दाङ पुगेर पदभार ग्रहण गरेका छन् ।
बुधबार नै दुवै पार्टीबाट चार–चारजना मन्त्री बनेका छन् । सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले शपथग्रहणका दिन मन्त्रिमण्डललाई पूर्णता दिने र सबै मन्त्रीहरूलाई एकैसाथ शपथ गराउने चाहना राखेका थिए । तर, उनको चाहनाअनुरूप दुवै दलबाट काम हुन सकेन । यहाँ एमाले र कांग्रेसले पाँच–पाँचवटा र साना दललाई दुईवटा मन्त्रालय दिएर मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी छ ।
कांग्रेसभित्र थप असन्तुष्टि
बुधबार नै कांग्रेसले पाँचजना मन्त्री पठाउने गरी तयारी गरेको थियो । जसमा एक नम्बरमा कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नाम थियो । पार्टीभित्र आकांक्षी बढेपछि उनको नाम अन्तिम समयमा हटाइयो । तर, विवादास्पद छवि भएका सांसदलाई मन्त्रीमा नियुक्त गरिएको छ । पार्टीभित्र देखिएको विवाद रोक्न सुरुमै विवादास्पद छविका व्यक्तिहरूलाई नियुक्त गरिएपछि पार्टीभित्र थप असन्तुष्टि बढेको हो ।
तिमिल्सिनालाई मन्त्री नियुक्त गरी विवादास्पद छवि भएका व्यक्तिहरूलाई रोक्नुपर्नेमा उल्टो काम भएको भन्दै कांग्रेसमा असन्तुष्टि छ । पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएपछि अन्य आकांक्षीहरूलाई तत्काल मत्थर पार्न एकजनाको नियुक्ति रोकिएको बताइएको छ । कांग्रेसबाट मन्त्रीमा नियुक्त चारमध्ये एकजना मात्रै शेखर कोइराला पक्षका हुन् ।
एमाले संसदीय दलका नेताले दिए राजीनामा
यता एमालेमा मुख्यमन्त्री नियुक्तिदेखि नै विवाद रहेको छ । मुख्यमन्त्रीको दौडमा रहेका संसदीय दलका नेता लीला गिरीलाई पन्छाएर उपनेता आचार्य मुख्यमन्त्री बनेपछि गिरीले दलको नेताबाट राजीनामा दिएका छन् । पार्टी उपाध्यक्ष विष्णु पौडेलनिकटका गिरीलाई पन्छाएर महासचिव शंकर पोखरेल पक्षका आचार्यलाई नियुक्त गर्न पोखरेलले नै निर्देशन दिएपछि यहाँ एमालेभित्र असन्तुष्टि छाएको छ ।
पार्टीको प्रदेश सम्मेलनमा पौडेल र पोखरेल पक्षबीच चुनावी भिडन्तमा पौडेल पक्षका अध्यक्षमा निर्वाचित भएका थिए । त्यतिवेलादेखि नै असन्तुष्टिका रूपमा पोखरेलले आचार्यलाई अघि सारेको चर्चा यहाँ गरिन्छ । तर, आचार्य पक्षले पूर्वसहमतिअनुसार नै मुख्यमन्त्री नियुक्ति भएको बताउने गरेको छ ।
०७९ पुसमा मुख्यमन्त्री चयन गर्ने समयमा गिरी र आचार्यले मुख्यमन्त्री दाबी गरेपछि पहिलो चरणमा गिरीलाई र दोस्राे चरणमा आचार्यलाई बनाउने सहमति भएको आचार्य पक्षको दाबी छ । सोही सहमतिअनुसार ०७९ मा गिरी भएको र अहिले आचार्य मुख्यमन्त्री बनेको तर्क गरिएको छ । यहाँ मन्त्री चयन गर्दा पनि एमालेका चारजना मन्त्रीमा एकजना मात्रै पौडेलनिकट र बाँकी पोखरेलनिकटका रहेका छन् ।
यी हुन् लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री
एमालेतर्फबाट सरकारमा सहभागी मन्त्री
१. भूमिश्वर ढकाल (रुपन्देही)
२. दिनेश पन्थी (गुल्मी)
३. खेमबहादुर सारू (पाल्पा)
४. सीता शर्मा ( दाङ)
कांग्रेसबाट सहभागी मन्त्री
१. बादशाह कुर्मी (बाँके)
२. सरोज थापा (प्युठान)
३. धनेन्द्र कार्की (गुल्मी)
४. प्रचण्डविक्रम न्यौपाने (दाङ)
पूर्वमुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा दिएपछि २४ घण्टाभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले समय दिएका थिए । यहाँ कांग्रेस–एमालेको गठबन्धनबाट मुख्यमन्त्रीमा आचार्यले सोमबार दिउँसो दाबी पेस गरेपछि प्रदेश प्रमुखले आचार्यलाई मुख्यमन्त्रीमा सोही दिन नै नियुक्त गरेका थिए ।लुम्बिनीमा ८७ प्रदेश सभा सदस्य रहेकोमा बहुमतका लागि ४४ जना आवश्यक पर्दछ । जसमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद रहेका छन् ।
निराशा हटाउने गरी काम गर्छौँ : मुख्यमन्त्री आचार्य
मुख्यमन्त्री आचार्यले प्रदेशप्रतिको निराशा हटाउने गरी सरकारले काम गर्ने बताएका छन् । शपथग्रहणसँगै पत्रकारसँग कुराकानी गर्दै उनले सुशासनका पक्षमा रहेर जनतालाई दिने सेवा प्रभावकारी बनाएर काम गर्ने बताए । हरेक क्षेत्रमा सकारात्मक काम गरेर अगाडि बढ्ने बताउँदै उनले नवनियुक्त मन्त्रीहरूको कार्यविभाजन छिट्टै गरिने र मन्त्रिमण्डललाई पूर्णता दिने बताए । पार्टभित्र कुनै विवाद नरहेको उनको दाबी छ ।
कांग्रेस प्रदेश समितिले सभापति देउवालाई पठायो ध्यानाकर्षणपत्र
कांग्रेसबाट मन्त्री बनेकाहरूको नाममा असन्तुष्टि जाहेर गर्दै कांग्रेस लुम्बिनी प्रदेश समितिले पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र पठाएको छ । सभापति अमरसिंह पुनले पठाएको पत्रमा प्रदेश समितिलाई पूर्णतया बेवास्ता गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । यस किसिमको निरंकुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठहर गरेको भन्दै निर्णय पुनर्विचार गर्न नेतृत्वलाई आग्रह गरिएको छ ।
पुनर्विचार नगरिए वैधानिक प्रक्रियाविरुद्ध गरिएको यस कार्यबाट असन्तुष्ट जिल्लाका साथीहरूसँग बृहत् छलफल गरी यथोचित निर्णयमा पुग्न बाध्य हुने जनाइएको छ । सभापति पुनले प्रदेश समितिसँग समन्वय नगरी यस किसिमले काम गर्नु निरंकुश शैली भएको भन्दै यो संघीयताको मर्मविपरीतको कार्य भएको बताए ।
यी हुन् कांग्रेसका विवादास्पद छविका मन्त्री
बादशाह कुर्मी
कांग्रेसले बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (२) बाट विजयी बादशाह कुर्मीलाई बुधबार विनाविभागीयमन्त्री बनाएको छ । उनी व्यक्ति अपहरण गरी हत्या मुद्दामा अनुसन्धानमा तानिएका सांसद हुन् । उनी नेपालगन्ज उपमहानगरपालिका– १७ परसपुरकी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको आरोपमा प्रहरी अनुसन्धानको घेरामा छन् ।
सरोज थापा
यस्तै विवादित पृष्ठभूमिका कांग्रेस सांसद रोज राणा अर्थात् सरोज थापा लुम्बिनी सरकारमा फेरि मन्त्री बनेका छन् । प्युठानबाट निर्वाचित राणा यसअघि माओवादी–कांग्रेस गठबन्धनमा उद्योगमन्त्री बनेका थिए । कुनै वेला प्रहरीको गुन्डानाइके सूचीमा रहेका राणाविरुद्ध मानव बेचबिखनको अभियोगसमेत लागेको थियो । उनी डान्सबारमा युवतीलाई नग्न रूपमा नाच्न लगाएको आरोपमा पक्राउ पर्दा ६ महिना पुर्पक्षका लागि थुनामा बसेका थिए ।