साउन १७ देखि ३१ गतेसम्म सिमानाकामा हाटबजार लाग्ने
कोरोना समयदेखि बन्द भएको मुगु-चीन हाटबजार मेला यस वर्ष चल्ने भएको छ । मुगुस्थित नेपाल–चीन सिमाना नाग्चेलाग्नादेखि नजिकै रहेको चीनको ह्यजिमार क्षेत्रमा पाँच वर्षपछि नेपाल-चीन हाटबजार लाग्ने भएको हो ।
परापूर्वकालदेखि यो क्षेत्रमा अस्थायी रूपमा नेपाल र चीनका जनतालाई आवश्यक पर्ने वस्तु तथा पशुचौपाया हाटबजार लगाएर किनबेच गर्दै आएको भए पनि कोरोनाको समययता बन्द भएको थियो ।
अस्थायी नाका खोल्न र हाटबजार नियमित गर्न चिनियाँ दूतावास र नेपालको परराष्ट्र मन्त्रालयमा गाउँपालिका र मुगुबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका अगुवाहरूले पहल गरे पनि नाका खोलिएको थिएन ।
नाकासँगै जोडिएको मुगम कार्मारोङ गाउँपालिकाले ह्यजिमार क्षेत्र रहेको चीनको स्थानीय प्रमुखहरूसँग बारम्बार सम्पर्क र पहलपछि यो वर्षको अगस्ट १ देखि १५ तारिखसम्म (साउन १७ गते देखि ३१ गतेसम्म) नाका खुल्न लागेको र विगतझैँ चीनको ह्यजिमारमा १५ दिनसम्म हाटबजार लाग्ने मुगम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामाले बताए ।
हाटबजारमा मुगालीहरू काठका लट्ठी, चुलिका सिम्रा, यार्सागुम्बा, नेपाली जुत्ता, जडीबुटी बिक्री गर्दछन् । यस्तै, चिनियाँहरू सिमेन्ट, जस्तापाता, घ्यु, भेडा, चामल, छुर्पी, चिया, लत्ताकपडा बिक्री गर्ने गर्दछन् ।
चीनतर्फ सीमासम्मै सडक पुगेकाले चिनियाँ व्यापारीहरूले बिक्री गर्ने सामानहरू ट्रकमा ल्याउँछन् । ह्यजिमारमा चीनले ठूलो गोदाम घर बनाएको छ । चिनियाँ व्यापारी र स्थानीयहरू आफूले बसक्री गर्न ल्याएका सामान र नेपालीबाट किनेका सामान त्यही गोदाममा राख्ने गर्दछन् ।
तर, नेपालतिर सडक र यातायातका साधन नहुँदा स्थानीय र व्यापारीहरू घोडा, खच्चर र चौँरीलाई व्यापार गर्ने सामान बोकाएर लैजान्छन् । किनेका सामानहरू पनि तिनै घोडा, खच्चर, चौँरी र आफैँले बोकेर घरसम्म ल्याउने गरेकाे मुगम कार्मारोङ गाउँपालिका- १ का वडाध्यक्ष च्यावा लामा बताउँछन् ।
सस्तो र नजिकै दैनिक उपभोग्यलगायत घरायसी सामान खरिद गरेका मुगुवासी पाँच वर्षसम्म नाका नखुल्दा भारत तथा नेपालका विभिन्न सहरहरूबाट महँगो मूल्यमा आवश्यक सामान किन्न बाध्य थिए । सीमानाकामा १५ दिन हाटबजार लाग्ने थाहा पाएसँगै मुगुवासी खुसी भएका छन् भने व्यापारीहरू व्यापार गर्न लैजाने सामानकाे तयारीमा लागेका छन् ।