कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा चोटग्रस्त बनेका अर्जेन्टिनी कप्तान लियोनल मेसीले सम्भवतः २०२४ का सबै खेल गुमाउने सम्भावना बढेको छ । कोलम्बियाविरुद्धको फाइनलमा मेसी ६४औँ मिनेटमा घाइते भएका थिए । दायाँ खुट्टाको चोटका कारण मेसीले पूरै खेल खेलेनन् । अर्जेन्टिनाले कोलम्बियालाई १–० ले हराउँदै सर्वाधिक १६औँ पटक कोपा अमेरिका जितेको थियो । अर्जेन्टिनी फुटबल संघले मेसीको चोट तत्काल निको नहुने र धेरै आराम गर्नुपर्ने जनाएको छ ।
मेसीआबद्ध इन्टर मियामीले समेत आफ्ना मुख्य खेलाडीले चोटका कारण नै सिजन गुमाउन सक्ने जनाएको छ । ‘मेसीको चोट गम्भीर प्रकृतिको देखिएको छ । निको भएर मेसी मैदानमा आउन धेरै समय लाग्छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसैबीच, अर्जेन्टिनी फुटबल संघले खेलाडीहरूको फिटनेस परीक्षा लिँदा मेसी असफल भएको एजेन्सीले जनाएको छ । यससँगै तत्कालका लागि मेसी राष्ट्रिय टोलीमा रहने छैनन् ।
मेसीको विश्वास
फिटनेस परीक्षामा असफल भएका मेसीले आगामी सेप्टेम्बरमा दक्षिण अमेरिकामा हुने विश्वकप छनोट खेल गुमाउनेछन् । तर, मेसीले आफू फिट भएर छिट्टै मैदानमा आउने बताएका छन् । ‘अहिले धेरैले विश्वकपबारे नै प्रश्न गरेका छन् । यो अझै दुई वर्ष समय बाँकी छ । यस अवधिमा आफूलाई शतप्रतिशत फिट बनाउनेछु,’ मेसीले भने, ‘अहिलेको चोट गम्भीर देखिएको छ ।’
मेसेले यसअघिका चोट पनि सहजै ठीक भएको स्मरण गरे । ‘करिअरमा धेरैपटक लामो समय चोटग्रस्त बनेँ । प्रत्येकपटक त्यसमाथि जित निकालेँ । मलाई विश्वास छ– कोपा अमेरिकाको फाइनलमा व्यहोरेको चोटविरुद्ध पनि जित निकाल्नेछु,’ उनले भने, ‘तत्काल विश्वकपबारे केही विचार गरेको छैन ।’
सन् २०२६ को विश्वकपसम्म मेसी ३९ वर्षका हुनेछन् । त्यसवेलासम्म मेसीले आफूलाई कति फिट राख्छन् भन्ने प्रश्न छ । तर, उनी अझ फुटबलमा सक्रिय रहने विश्वास राख्छन् । ‘विश्वकपमा ३९ वर्षको हुनेछु । फिटनेस शतप्रतिशत भए उमेरको अर्थ रहँदैन, सम्भवतः विश्वकपसम्म पुरानै स्वरूपमा हुनेछु,’ उनले भने, ‘मेरो चाहना नै विश्वकप खेल्नु हो ।’
विश्वकपपछि नै सन्न्यासबारे निर्णय लिने उनको भनाइ छ । ‘मेरो योजना विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने हो । यसअघि यस्तो केही योजना छैन,’ उनले भने, ‘तर, त्यहाँसम्मको यात्रा तय गर्न फिटनेसमाथि विशेष ध्यान दिनु आवश्यक छ ।’
सेप्टेम्बरमा विश्वकप छनोट
कोपा अमेरिकामा चोटका कारण नै मेसीले समूह चरणका केही खेल गुमाएका थिए । उनले क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध पेनाल्टी मिस गरेका थिए । मेसीले सेमिफाइनलमा क्यानडाविरुद्ध एक गोल गरेका थिए । अब अर्जेन्टिनाले सेप्टेम्बरमा चिली र कोलम्बियासँग विश्वकप छनोटका खेल खेल्नेछ ।