प्राकृतिक विपतबाट प्रभावित सबै जिल्लामा राहतको प्रबन्ध भएको छ : गृहमन्त्री लेखक

मंगलबार, ८ साउन, २०८१
डिजिटल संस्करण

गृहमन्त्री रमेश लेखकले सरकारले प्राकृतिक विपतबाट प्रभावित सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध मिलाइएको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले क्रियाशील रूपमा मनसुनजन्य विपत् पूर्वतयारी तथा प्रतिकार्य गरिरहेको बताएका हुन्। उनले मनसुनबाट ७७ जिल्ला नै प्रभावित भएका उल्लेख गर्दै सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध मिलाइएको बताए।

मनसुनजन्य विपतबाट भएका क्षति र प्रतिकार्यमा मन्त्रालयले गरिरहेको कार्यबारे जानकारी दिँदै सरकारले आफ्नो स्रोत र साधन परिचालन गरी प्रतिकार्यलाई प्रभावकारी बनाइरहेको उनको भनाइ थियो।

‘मनसुनजन्य विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१, बमोजिम तीनवटै तहका संयन्त्र र गृह मन्त्रालयबाट विपतका घटनामा तत्काल उद्धार, राहत एवं प्रतिकार्यका कार्यहरू भइरहेका छन्,’ गृहमन्त्री लेखकले भने, ‘विपत् व्यवस्थापनमा सबै सुरक्षा निकाय, विभिन्न मन्त्रालय तथा विभागबीचको समन्वयमा केन्द्रीय ‘कमान्ड पोस्ट’ले काम गरिरहेको छ।’

सुझावित समाचार