हिमाली जिल्ला ताप्लेजुङमा सर्पआतंक बढेको छ । जिल्लामा चार दिनमा तीनजना सर्पको टोकाइबाट घाइते भएका छन्। जिल्लाको फुङलिङ नगरपालिका– १० फुरुम्बुका २४ वर्षकी सिर्जना राई घरछेउको बारीमा घाँस काट्ने क्रममा सर्पले टाउकोमा टोकेर बिरामी भएकी छिन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमलकुमार लुंगेलीले सोमबार घाँस काट्ने क्रममा राईलाई सर्पले टोकेको बताए। राईको उपचार जिल्ला अस्पतालमा हुन नसकेपछि सर्पदंश केन्द्र चारआली झापा लगिएको बताइएको छ।
त्यस्तै, गत साउन ५ गते शनिबार मेरिङ्देन गाउँपालिका– १ थिङलाबुमा पनि सर्पको टोकाइबाट ८२ वर्षकी वृद्धा फूलमाया लिम्बू घाइते भएकी थिइन् । वृद्धा लिम्बूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रनि लुंगेलीले बताए।
गत शुक्रबार पाथीभरा याङबरक गाउँपालिका– १ नाङखोल्याङमा सर्पले टोक्दा ५२ वर्षका भीमबहादुर राई घाइते भएका छन्। बारीमा काम गरी घर फर्कने क्रममा सर्पले दोक्दा दाहिने खुट्टा सुन्निएको छ। उनको उपचार जिल्ला अस्पताल ताप्लेजुङमा हुन नसकेपछि चारआली झापामा रेफर गरिएको जिल्ला अस्पतालले बताएको छ।