राष्ट्रिय स्वतन्त्र पार्टीले विपत् व्यवस्थापनको पुनरावलोकन गरी बृहत् गुरुयोजना बनाउन माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । तोसिमा कार्की प्रस्तावक र सन्तोष परियार, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, निशा डाँगी, डा. चन्दा कार्की, असिम शाह, बिन्दवासिनी कंसाकार समर्थक रहेको प्रस्ताव संसद्मा दर्ता गर्दै यथाशीघ्र छलफल गराउन सभामुख देवराज घिमिरेलाई बुझाएका छन् ।
छलफलसँग सम्बन्धित मन्त्रालयमा गृह र स्वास्थ्य रहेको छ । हरेक वर्ष पूर्वतयारी र व्यवस्थापनको कमजोरीले ठूलो जनधनको क्षति र हजारौँ व्यक्ति प्रभावित हुने गरेको भन्दै प्रस्तावमा विपत् व्यवस्थापनमा पुनरावलोकन, विपत् रोकथाम, विपत् जोखिम न्यूनीकरण साथै विपत्पछिको पुनस्र्थापना तथा व्यवस्थापनसँग सम्बन्धित बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारीसम्बन्धी छलफल गर्नुपर्ने भनिएको छ ।
विपत् व्यवस्थापनसँगै अबको चुनौती भनेको पानीबाट सर्ने रोगहरू, मनसुनजन्य रोगहरू र भेक्टरजनित संक्रमण तथा महामारी रहेको उल्लेख गर्दै प्रस्तावमा देश स्वास्थ्य संकटको चरम जोखिममा रहेकाले मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमबारेसमेत पूर्वतयारी गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत–साधन र औषधीको भण्डारण गर्ने, क्षतिको जोखिम पूर्वानुमान गरी आमनागरिकलाई सुसूचित गराउने साथै समयमै पुनस्र्थापना र प्रतिस्थापन गर्ने–गराउनेलगायत कामबारे छलफल गर्न अति आवश्यक रहेको जिकिर गरिएको छ ।