जनचाहना र देशको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ : उपप्रधानमन्त्री सिंह

सोमबार, ७ साउन, २०८१
डिजिटल संस्करण
जनचाहना र देशको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ : उपप्रधानमन्त्री सिंह

फाइल तस्बिर

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको चाहना र देशको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्ने बताएका छन्। सहिद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताएका हुन्।

‘यो संविधानको विशेषता नै प्रक्रिया पूरा गरेर संविधानका धारा जनताको माग र समयको आवश्यकताअनुसार संशोधन गर्न सकिने प्रावधान हो। जनताको माग र देशको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ,’ उनले भने, ‘तीन तहको सरकारले अधिकारसम्पन्न भएर काम गरेको भए यो तहमा पुग्दैनथ्यौँ भन्ने मलाई लाग्छ।’ 

संघ, प्रदेश र स्थानीय तहको सरकार अधिकारसम्पन्न नहुँदा अहिलेको जटिल अवस्था सिर्जना भएको भन्दै उपप्रधानमन्त्री सिंहले रोजगारी सिर्जना, उद्योग सञ्चालन र अर्थतन्त्रलाई  ठीक ठाउँमा ल्याउनु वर्तमान सरकारको प्राथमिकता रहेको बताए।

अहिलेको परिस्थिति सुधार गर्न र जनतालाई राहत दिन कांग्रेस एमालेसहित साना दल सम्मिलित सरकार गठन भएको उनको भनाइ थियो। सिंहले अहिलेको अवस्थाबाट राम्रो गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताए।

सुझावित समाचार