नेपाली महिला राष्ट्रिय भलिबल टोली आइतबार पहिलो मैत्रीपूर्ण खेलमा रसियन टोलीसँगको पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा नेपाल ३–० को सोझो सेटमा पराजित भयो । शारीरिक तथा प्राविधिक रूपमा बलियो रहेको रसियाले नेपालमाथि २५–१७, २५–१९ र २५–१५ ले जित निकालेको हो । काभा नेसन्स लिगको तयारीमा रहेको नेपाल रिसिभ, सर्भिस र ब्लकमा कमजोर देखिएको छ ।
रसियाका अग्ला खेलाडीविरुद्ध नेपालले तीनवटै सेटमा राम्रो प्रदर्शन सकेन । नेपालका प्रशिक्षक जगदीश भट्टले विश्वस्तरीय खेलाडीका अगाडि घरेलु टोली निरीह भएको प्रतिक्रिया दिए । ‘रसियाको भलिबल निकै बलियो छ । यो टोलीसँग खेल्न पाउनु नै उपलब्धि हो,’ भट्टले भने, ‘हाम्रो खेलाडी रिसिभ, सर्भिस र ब्लकमा कमजोर देखिँदा विपक्षी त्यसैमा बलियो भयो ।’ रसियाविरुद्धको खेलमा सुमित्रा रेग्मी र आरती सुवेदीले नेपाली टोलीबाट डेब्युको अवसर पाए ।
मिडब्लकर सुमित्राले पहिलो ११ मै मौका पाइन् । युवा खेलाडीलाई बढी अवसर दिएको प्रशिक्षक भट्टले बताए । सुमित्रासँगै प्रगति नाथले धेरै अवसर पाइन् । ‘अनुभवी खेलाडीभन्दा नयाँ खेलाडीले राम्रो गरेपछि अवसर दिइएको हो । अनुभवी भनिएका खेलाडी सर्भिस, डिफेन्स र ब्लकमा कमजोर प्रदर्शन गर्न पुगे,’ उनले भने, ‘लिबेरो दुवैजना चल्न सकेनन् ।’ रसियाविरुद्ध नेपालले पहिलो अंक जोडेको थियो ।
दुवै सेटमा नेपालले दबाब बनाए पनि अन्तिममा कमजोर प्रदर्शन गर्यो । कप्तान अरुणा शाही, सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, उषा भण्डारी र शान्तिकला तामाङ चल्न सकेनन् । घाइते प्रतिभा माली टिमबाहिर छिन् । नेपालस्थित रसियन दूतावासको सहयोगमा भएको प्रतियोगितामा दोस्रो खेल सोमबार नै हुनेछ । नेपालले १७ साउनबाट काभा प्रतियोगिता खेल्नेछ । काभामा साविक विजेता भारत र नेपालसँगै इरान, श्रीलंका र माल्दिभ्स सहभागी हुनेछन् ।
रसियन टोली बलियो रहेछ
जगदीश भट्ट, प्रशिक्षक, नेपाल
रसियन टोली निकै राम्रो रहेछ । उनीहरूसँग राष्ट्रिय टोलीकै चार–पाँच खेलाडी र युवा खेलाडी छन् । यो रसियन टोलीले दक्षिण एसियाका अन्य टोलीलाई पनि राम्रो प्रतिस्पर्धा दिन सक्छ । उनीहरूको सर्भिस, रिभिस र ब्लक निकै राम्रो थियो । हामी त्यसैमा असफल भयौँ । हाम्रो लिबेरोसहित अनुभवी खेलाडी चल्न सकेनन् ।