२५ सय विन्दुआसपास पुग्यो सेयर बजार

जानकारहरू भन्छन्— बजारबाट दीर्घकालीन लाभ लिन सावधानीपूर्वक लगानी गर्नुपर्छ

सोमबार, ७ साउन, २०८१
डिजिटल संस्करण

सेयर बजारमापक नेप्से परिसूचक २५ सय विन्दुआसपास पुगेको छ । २१ दिन (१७ असारयता) निरन्तरजसो उकालो लागिरहेको बजार आइतबार २४८५.९४ विन्दु पुगेर रोकिएको छ । यो बिहीबारको तुलनामा ६१.६१ अंक (२.५४ प्रतिशत) बढी हो । गत बिहीबार बजार परिसूचक २४२४.३२ विन्दुमा पुगेको थियो । 

बिहीबार १५ अर्ब नाघेको सेयर कारोबारले निरन्तरता पाउँदै आइतबार पनि १५ अर्ब २३ करोड ८२ लाखको किनबेच भएको छ । यो दिन होटेल तथा पर्यटन परिसूचक ४.२१ प्रतिशत र बैंकिङ समूह ३.८६ प्रतिशतले बढेको छ । व्यापार समूहको परिसूचक ६.८० प्रतिशतले बढेको छ । उच्चदरको वृद्धिमा सबैभन्दा बढी युनाइटेड मोदी हाइड्रोपावर र समता घरेलु लघुवित्तका सेयरधनीले लाभ लिएका छन् । दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन बैंक, गणपति लघुवित्त, एनएमबि–५०, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक र सुपरमादी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको छ ।  

 मार्केटमा बुल आएको हो ?
लामो समयको अवधिमा सेयर बजारले निरन्तर उकालो लाग्ने अवस्थालाई बुल मार्केट भनिन्छ । अहिलेको निरन्तर वृद्धिलाई बुल मार्केटको संकेतका रूपमा जानकारहरूले लिएका छन् । सिद्धान्ततः अर्थतन्त्रमा विस्तार, न्यून बेरोजगारी दर, उपभोक्ताको क्रयशक्तिमा हुने वृद्धि र लगानीकर्ता आशावादी बन्दै जाँदा बजारले बुलिस ट्रेन्ड समात्ने गर्छ । फोब्सका अनुसार सेयर बजार परिसूचकमा २० प्रतिशतले वृद्धि भएको अवस्थालाई बुल मार्केट भनिन्छ । बुल मार्केटको औसत आयु तीन वर्षको मानिन्छ । संसारमा सबैभन्दा बढी बुल मार्केट ११ वर्षसम्म चलेको थियो । सन् २००९ को मार्चमा विश्व आर्थिक मन्दीबाट सुरु भएर सन् २०२० को मार्चसम्म चलेको मानिन्छ । 

नेपाली सेयर बजारले पनि बुल मार्केटतर्फ दीर्घकालीन यात्रा तय गरेको संकेत दिएको जानकारहरू बताउँछन् । नबिल बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीका अनुसार नेपालमा मात्रै होइन, विश्वभर नै सेयर बजार सेन्टिमेन्टले चल्ने बताउँछन् । उनले भने, ‘बजारलाई सेन्टिमेन्टल बनाउन आधार भने बलियो चाहिन्छ । अहिलेको मुख्य आधार भनेको मुद्दती निक्षेपको ब्याजदर न्यूनतम विन्दुमा आउनु हो । ब्याजदर ५ देखि ६ प्रतिशतमा आइसकेको छ ।’ उनले अहिलेको बजारको वृद्धिलाई स्थायित्वतर्फको यात्राका रूपमा लिएका छन् । 

अहिलेको सेयर बजार वृद्धि दीर्घकालीन हिसाबले अगाडि बढ्न खोजेको उनको भनाइ छ । उनले भने, ‘यस्तो वेलामा राम्रा कम्पनीका आधारहरू हेरेर लगानी गर्ने हो भने बजारबाट दीर्घकालीन लाभ लिन सकिन्छ । नत्र फस्ने पनि यस्तै 
वेलामा हो ।’ 

नेपालमा लगानी गर्ने प्रचलित क्षेत्र भनेको मुद्दती निक्षेप, घरजग्गा र सेयर बजार रहेको उनको बुझाइ छ । उनका अनुसार अहिले निक्षेप मात्र होइन, ऋणको ब्याजदरसमेत एकल अंकमा आउन थालिसकेको छ । उनले भने, ‘मुद्दतीमा कम ब्याजदर आउने भएपछि सुरक्षित लगानीको क्षेत्र भनेको घरजग्गा हो । अहिले घरजग्गा कारोबारमा पनि मन्दी छ । फेरि यसमा आज पैसा हालेर भोलि कमाइन्छ भन्ने छैन । सेयर बजार अहिले उर्वर बनेको छ ।’ कम्पनीको सेयर मूल्य पनि नेटवर्थको हाराहारी पुगेको अवस्थामा बजारमा लगानी गर्न सेयर कारोबारी उत्साहित भएको उनको विश्लेषण छ । 

नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको निकटतालाई सेयर बजारसँग जोडेर हेर्न थालिएको छ । एउटै दलका प्रधानमन्त्री तथा अर्थमन्त्री र ओली नेतृत्वकै सरकारले नियुक्त गरेका गभर्नर अधिकारीबीच सम्बन्ध निकट रहेकाले उनीहरूले नीतिगत एकरूपता ल्याउने अपेक्षा बजारले गरेको सेयर बजार कारोबारीहरूको प्रतिनिधिमूलक संस्था इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले बताए । 

उनले भने, ‘उदाहरण नै हेर्ने हो भने ओली नेतृत्वको सरकार हुँदा गभर्नरज्यूले उत्कृष्ट मौद्रिक नीति ल्याउनुभयो । तर, त्यसपछिका कुनै पनि मौद्रिक नीति राम्रा आएनन् ।’ बैंक तथा वित्तीय संस्थामा थुप्रिएको पैसा बजारमा आउने वातावरण मिलाउन सकेमा बजार थप बढ्नेमा उनी आशावादी छन् । 

सेयर बजार बढाउन विश्वासपात्रको छवि बनाएका अर्थमन्त्री विष्णु पौडेललाई त्यो छवि कायम राख्नुपर्ने दबाब रहेको बैंकर ज्ञवालीको पनि बुझाइ छ । उनले भने, ‘अर्थमन्त्री मात्र होइन, प्रधानमन्त्रीज्यूलाई पनि नयाँ सरकारले अर्थतन्त्र सुधार्छ भन्ने सन्देश दिनुपर्ने दबाब छ । सोहीअनुसार गभर्नरज्यू पनि सकारात्मक हुने देखिन्छ । अहिले बिग्रिने ठाउँ नै छैन ।’

तर, बजारलाई उचालिन सेयर धितो कर्जाको सीमा बाधक नभएको उनको टिप्पणी छ । उनले भने, ‘जहाँसम्म सेयर धितो कर्जाको सीमाको विषय छ, त्यो हौवा हो । १५ करोड ऋण लिएर लगानी गर्न सक्ने लगानीकर्ता औँलामा गन्ने अवस्थामा छन् । तर, पछिल्लो समय विदेशमा रहेको नेपालीले पनि टिएमएसको पहुँच हुने भएपछि विदेशको कमाइ सेयर बजारमा लगानी गरिरहेका छन् ।’

सेयर बजारले स्थायी उकालो यात्रा खोजेको देखिन्छ
मनोज ज्ञवाली, बैंकर

अहिलेको बजार स्थायित्वका लागि बढिरहेको देखिन्छ । लगानीकर्ताले यस्तो वेलामा राम्रो कम्पनीका आधारहरू हेरेर लगानी गर्ने हो बजारमा दीर्घकालीन लाभ लिन सक्छन् । नत्र फस्ने पनि यस्तै वेलामा हो । 

प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरको लाइन मिल्दा बजार बढ्यो
छोटेलाल रौनियार, सेयर कारोबारी

अहिलेको बजार कसैबाट उचालिएको होइन । प्रधानमन्त्री, गभर्नर र अर्थमन्त्री एउटै लाइनको पर्नुभयो, यसले नीतिगत स्थायित्व हुने अपेक्षा बढाएको छ । विगतमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई गलत बुझ्नुभएको थियो । तर, पछिल्लो समय उहाँ पनि बजारप्रति सकारात्मक हुनुभएको छ । बहालवाला अर्थमन्त्रीले सेयर बजार अर्थतन्त्रको ऐना हो, जुवाघर होइन भन्ने अभिव्यक्ति दिनुभयो । त्यसैले बढेको हो ।

सुझावित समाचार