कास्कीका सात सहकारीमा चार अर्ब ५९ करोड हिनामिना

२१४ विरुद्ध मुद्दा, ८४ पक्राउ, १३० जना अझै फरार

आइतबार, ६ साउन, २०८१
डिजिटल संस्करण

कास्कीमा सञ्चालनमा रहेका सात सहकारीमा बचतकर्ताको चार अर्ब ५९ करोड १८ लाख २७ हजार ४०७ रुपैयाँ हिनामिना भएको छ । सात सहकारीको रकम हिनामिनासँगै अपचलन एवं ठगी गरेको आरोपमा प्रहरीले जिल्ला सहकारी वकिल कार्यालय कास्कीमार्फत २१४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ ।

कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाका अनुसार सात सहकारीमध्ये सबैभन्दा धेरै पोखरा महानगरपालिका– ४ गैह्रपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ५४ करोड १५ लाख आठ हजार १४२ रुपैयाँ अपचलन भएको छ । सबैभन्दा कम विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाको सात करोड ५९ लाख ८६४ रुपैयाँ अपचलन भएको छ । 

सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिनासँगै अपचलन एवं ठगी गरेको सम्बन्धमा प्रदेशअन्तर्गत दर्ता सहकारीले सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाअन्तर्गत दर्ता भएका सहकारीका बचतकर्ताले पोखरा महानगरपालिकामा दिएको उजुरीका आधारमा भएको छानबिन एवं अध्ययनपछि साढे चार अर्बभन्दा बढी रकम अपचलन तथा हिनामिना भएको खुलेपछि अदालतमा मुद्दा पुगेको हो । ठगी आरोपमा मुद्दा दर्ता गरिएका दुई सय १४ मध्ये ८४ जना पक्राउ परेका छन् । उनीहरूमध्ये ५२ जना अदालतको आदेशपछि धरौटी तारेखमा रिहा भएका छन् । ३२ जना कारागार चलान भएका छन् ।

प्राइममा सबैभन्दा धेरै एक अर्ब ५४ करोड १५ लाख आठ हजार १४२ रुपैयाँ अपचलन भएको अनुसन्धानपछि खुलेको थियो । प्राइममा रकम हिनामिना गरेको आरोपमा ६५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । उनीहरूमध्ये २५ जना पक्राउ परेका र १८ जना धरौटी तारेखमा रिहा भएका छन् । सातजना कारागार चलान र ४० जना अझै फरार छन् ।

पोखरा– ४ नालाको मुखस्थित सूर्यदर्शन सहकारीको एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपैयाँ अपचलन भएको छ । रकम हिनामिनाको आरोपमा पहिलो चरणमा १९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएकोमा पाँचजना पक्राउ परेका छन् । दोस्रो चरणमा प्रहरीले केही दिनअघि थप २५ जनाका नाममा पक्राउ पुर्जी जारी गरेको छ । ठगीका मुख्य आरोपी भनिएका सहकारीका संस्थापक अध्यक्ष जिबी राई फरार छन् ।

प्रहरीका अनुसार इमेज सहकारीमा ६४ करोड ८८ लाख ६० हजार ४७९ रुपैयाँ ठगी भएको छ । ठगीको आरोप लागेका मुख्य व्यक्ति सहकारीका संस्थापक अध्यक्षसमेत रहेका देवकुमार नेपाली हालसम्म फरार छन् । गृह मन्त्रालयले नेपालीको यात्रा अनुमति रद्द गर्न निर्देशनसमेत जारी गरेको छ । नेपालीसँगै प्रहरीले १५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो । जसमध्ये ६ जना पक्राउ परेका छन् । चारजना धरौटीमा रिहा र दुईजना कारागार चलान भएका छन् ।

मुख्य आरोपी भनिएका नेपालीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र परिवारको नाममा भएका सम्पत्ति सार्वजनिकसँगै आफ्नो धारणा सार्वजनिक गर्दै सहकारीको समस्या समाधानका लागि सम्पूर्ण बचतकर्ताको रकम आफू र श्रीमतीको नाममा भएको घरजग्गा मालपोत कार्यालयमा गई हस्तान्तरण गर्न चाहेको बताएका थिए । उनी बागलुङको ढोरपाटन नगरपालिकामा एमालेबाट निर्वाचित मेयरसमेत हुन् । इमेजको मुख्य कार्यालय भने बागलुङमा छ । 

भक्तपुरको कौशलटारमा प्रधान कार्यालय रहेको शिव शिखर सहकारीको पोखरा महानगरपालिका– ५ पस्र्याङ र पोखरा– १४ चाउथेमा डिपार्टमेन्टल स्टोरसहितका दुई शाखा सञ्चालनमा थिए । दुई शाखामा गरी सात हजार दुई सय बचतकर्ता आबद्ध रहेकोमा उनीहरूको ५४ करोड ५३ लाख ८५ हजार ३६८ रुपैयाँ निक्षेप सञ्चालकले हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । सोही रकम हिनामिना एवं ठगीको आरोपमा प्रहरीले ११ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । जसमध्ये चारजना पक्राउ परेका छन् । 

पोखरा– ९ नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको ३१ करोड ७८ लाख २२ हजार ८११ रुपैयाँ हिनामिना भएको प्रहरीको भनाइ छ । ठगीको आरोप ३१ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा २० जना पक्राउ परेका छन् । १३ जना अझै फरार छन् । पक्राउ परेका २० मध्ये ११ जना धरौटीमा छुट्दा नौजना कारागार चलान भएका छन् ।

बलिदानी सहकारीको १० करोड ५९ लाख ३५ हजार ८४४ रुपैयाँ सहकारीका सञ्चालकले हिनामिना गरेका छन् । ठगी आरोपमा १५ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा पाँचजना पक्राउ परेका छन् । उनीहरूमध्ये दुईजना कारागार चलान र तीनजना धरौटीमा छुटेका छन् ।

पोखरा– ९ न्यूरोडस्थित विन्ध्यवासिनी सहकारी संस्थाको सात करोड ६९ लाख ५९ हजार ८६४ रुपैयाँ हिनामिना भएको छ । बचत रकम अपचलनको आरोपमा ३१ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । उनीहरूमध्ये १९ जना पक्राउ परेका छन् । १७ जना धरौटीमा रिहा र दुईजना कारागार चलान भएका छन् ।

लामो समयसम्म आफ्नो बचत रकम फिर्ता नपाएपछि बचतकर्ताहरू बचत संघर्ष समिति गठन गरेर आन्दोलित भएका छन् । समितिको संयोजकमा सूर्यदर्शनका बचतकर्ता किरण श्रेष्ठ छन् । श्रेष्ठले आफूहरूको बचत रकम फिर्ता नपाएपछि सबै सहकारीका पीडित बचतकर्ता मिलेर संघर्ष समिति गठन गरेको बताए । समस्या समाधानका लागि जानुपर्ने सरकारी निकायसँगै प्रधानमन्त्रीदेखि मन्त्री र दलका नेताहरूलाई भेट गर्दासमेत केही सुनुवाइ हुन नसकेको उनको गुनासो छ । साग बिक्री गरेकोदेखि विदेशमा रोजगारी गरेर जम्मा गरेको पैसा नपाउँदा धेरै बचतकर्ताको हाल जीवनयापनमा समस्या परेको उनको भनाइ छ । श्रेष्ठका अनुसार सहकारीमा बचत गर्ने बचतकर्तामध्ये कम्तीमा ६३१ रुपैयाँदेखि बढीमा पाँच करोड रुपैयाँसम्म बचत छ । 
 

See More On

सुझावित समाचार