खोटाङमा ७६ दशमलव ६९ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको छ । १० हजार १८ दशमलव ९ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको जिल्लामा साउन ४ गतेसम्मको तथ्यांकअनुसार ७६ दशमलव ६९ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञानकेन्द्र खोटाङले जनाएको छ ।
१० स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी बराहपोखरी गाउँपालिकामा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम हलेसी तुवाचुङ नगरपालिकामा ३८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश धानखेतमा आकासे पानीका भरमा रोपाइँ गरिँदै आइएकामा अझै पर्याप्त पानी नपरेकाले रोपाइँ ढिलाइ भएको कृषकले बताएका छन् ।
जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ८३, जन्तेढुंगा गाउँपालिकामा ६३, खोटेहाङ गाउँपालिकामा ७२ प्रतिशत रोपाइँ सकिएको छ । यस्तै, दिप्रुङ चुइचुम्मा र ऐँसेलुखर्क गाउँपालिकामा ७५–७५ प्रतिशत, केपिलासगढी गाउँपालिकामा ७०, रावाबेँसी गाउँपालिकामा ६५ र साकेला गाउँपालिकामा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
गत वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञानकेन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए । ‘खोटाङमा भदौ पहिलो हप्तासम्म रोपाइँ गर्ने गरेका छन् । यस वर्ष करिब २४ प्रतिशत खेतमा मात्र रोपाइँ गर्न बाँकी रहेको तथ्यांकले देखाएको छ,’ उनले भने, ‘जिल्लाका अधिकांश भू–भागमा बर्खे पानीका भरमा रोपाइँ गर्ने गरिएको छ । यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण रोपाइँ छिटो भएको हो । यसले धान उत्पादनमा समेत वृद्धि हुने अनुमान गरिएको छ ।’ गत वर्ष जिल्लाका खेतीयोग्य जमिनमध्ये धानखेती हुने कुल क्षेत्रफलको ९४ प्रतिशत अर्थात् नौ हजार ४१७ दशमलव ७ प्रतिशत खेतमा रोपाइँ भएको थियो । जसबाट २१ हजार ९४ दशमलव ९ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिएका छन् ।
जिल्लामा बास्मती, अट्टेमार्सी, चम्पासरी, भोटांगे, तौली, ताइचिन, मनकामना, मन्सुली, राधा, मकनापुर–१, हिमालीलगायत विभिन्न प्रजातिका धानखेती हुँदै आएको छ । जिल्लामा उत्पादित धानमध्ये सबैभन्दा बढी बास्मती र भोटांगे उपभोक्ताको रोजाइमा पर्ने गरेको कृषकले बताउने गरेका छन् ।
जिल्लामा उत्पादित धानको चामल स्थानीय हाटबजार तथा राजधानी काठमाडौंलगायत विभिन्न सहरमा निर्यात हुने गरेको कृषकले बताएका छन् । जिल्लाका सबै स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएकाले पनि कृषकले उत्पादन गरेका हरेक कृषिउपज राजधानी काठमाडौंलगायतका सहरमा निर्यात गर्न सहज भएको छ ।