ठूला चन्दादाताले मात्र रोक्न सक्छन् बाइडेनलाई

शुक्रबार, ४ साउन, २०८१
डिजिटल संस्करण

बाइडेन चुनावी दौडमा रहिरहने वा नरहने विषयमा आमअमेरिकी तथा डेमोक्रेटिक पार्टीका समर्थकको विचार वा चाहना नगण्य बनेको छ

जुलाई ५ मा विसकन्सिन राज्यको म्याडिसनमा भएको र्यालीमा जो बाइडेनले भने, ‘केही मानिसले मलाई राष्ट्रपति दौडबाट बाहिर धकेल्ने प्रयास गरिहेका छन् ।’ राष्ट्रपति बाइडेनको संकेत खासमा कोतर्फ थियो ? पक्कै पनि उनको निसाना डोनाल्ड ट्रम्प वा रिपब्लिकनतर्फ थिएन, जो बाइडेनले उम्मेदवारी त्याग्नुपर्ने बहसमा आश्चर्यजनक रूपमा मौन छन् । उसो त रिपब्लकन पार्टीले फरक दलका उम्मेदवारलाई चुनावी दौडबाट हटाउन सक्ने कुरा पनि होइन । विसकन्सिनको सम्बोधनमा बाइडेनको संकेत संसद् (कांग्रेस)का डेमोक्य्राट सदस्यप्रति पनि थिएन । लगभग सबै डेमोक्रेटिक कंग्रेस–मेनहरूले सार्वजनिक रूपमा बाइडेनप्रति समर्थन जनाएका छन् । २१३ मध्ये केवल आठ हाउस डेमोक्य्राट (तल्लो सदनका डेमोक्रेट सदस्य)ले उनलाई उम्मेदवारी परित्याग गर्न आह्वान गर्दा सिनेटको एक डेमोक्य्राटले मात्र त्यस्तो आह्वान गरेका छन् । 

के त्यसो भए बाइडेनको संकेत दुई सदनमा डेमोक्रेटिक पार्टीको नेतृत्वकर्ताप्रति थियो । सिनेटका डेमोक्रेट्स नेता चक सुमर र तल्लो सदनका नेता हाकिम जेफ्रीले कम्तीमा सार्वजनिक रूपमा बाइडेनप्रति समर्थन जनाएकै छन् । बाइडेनको संकेत सम्भवतः डेमोक्रेटिक पार्टीको उम्मेदवार चयन गर्ने निकाय ‘डेमोक्रेटिक नेसनल कमिटी (डिएनसी)’तर्फ हुने सम्भावना छैन । किनकि डिएनसिका एक सदस्यले समेत बाइडेनलाई चुनावी दौडबाट बाहिरिन आह््वान गरेका छैनन् । उसो भए बाइडेनको आक्रोश टेलिजिभन विश्लेषक तथा लिबरल पत्रिका भनिने ‘द न्युयोर्क टाइम्स’ र ‘वासिंगटन पोस्ट’का विचार पृष्ठका स्तम्भकारप्रति लक्षित थियो, जहाँ सबैले बाइडेनलाई उम्मेदवारी त्याग्न आह्वान गरेका छन् । त्यस्तो हुन सक्छ । तर, यो वाचाल वर्गको औसत मतदाताको प्राथमिकतामा निकै कम वा शून्य प्रभाव छ । सोच्नुस् नँ विसकन्सिनको त्यस र्यालीमा सहभागीमध्ये कतिजना मानिसले ‘न्युयोर्क टाइम्स’का विचार पढेका थिए होलान् ?

सम्बोधनमा बोलिरहँदा बाइडेनको मनमा पूर्वराष्ट्रपतिद्वय बाराक ओबामा र बिल क्लिन्टनसमेत सम्मिलित द्विदलीय पाका नेताको अनौपचारिक सल्लाहकार समूह पो थियो कि, जसले पर्दा पछाडि असाधारण प्रभाव राख्ने चर्चा चल्छ । तर, अहिले त्यस्तो कुनै समूह अस्तित्वमै छैन । (मलाई दशकौंँअघिको समय याद आइरहेको छ, जब अमेकिराका दुई दलका पाका नेताको समूहको वासिंटनका पर्दा पछाडिका खेला बलियो प्रभाव हुने गथ्र्यो । यो लोयड कटलर, जर्ज सल्ट्ज र जिम बेकरजस्ता व्यक्तित्वको दिनको कुरा गर्दै छु । तर, आजको अति ध्रुवीकृत वातावरणमा यस्तो कुनै समूहको अस्तित्व छैन । 

यथार्थमा, अमेरिकामा अहिले एउटा सानो समूहले मात्र जो बिडेनलाई राष्ट्रपतीय दौडबाट बाहिर निकाल्ने सामथ्र्य राख्छ । ती को हुन् त ? ती हुन्– डेमोक्य्राटिक पार्टीका ठूला चन्दादाता । तिनीहरू नै हुन्, जोसँग अहिले बाइडेन क्रुद्ध छन् । गत सोमबार (जुलाई ८) बिहान, बाइडेनले अचानक एमएसएनबिसी टिभीको कार्यक्रम मर्निङ सोमा सहभागी भए । कार्यक्रममा बाइडेनले आफूलाई उम्मेदवारी फिर्ता गर्न दबाब दिइरहेका ठूला चन्दादाताविरुद्ध चर्को असन्तुष्टि जनाए । ‘म सभ्रान्तबाट हैरान भइसकेँ, ...दलका सम्भ्रान्त वर्गबाट,’ बाइडेनले अन्तर्वार्ताका क्रममा भने, ‘करोडपतिहरू के सोच्छन्, म मतलब राख्दिनँ ।’ योसँगै सम्भवतः पहिलोपटक कुनै आधुनिक अमेरिकी राष्ट्रपतिले पार्टीका सम्भ्रान्त वर्गहरू भनेका पार्टीलाई दन्ता दिने करोडपति (तथा अरबपतिहरू) भएको स्विकारेका छन् । त्यो वर्ग पैसाबाट आएको असाधारण राजनीतिक शक्तिबाट– राष्ट्रपति उम्मेदवार (यस सन्दर्भमा बाइडेन)लाई चुनावी दौडबाट बाहिर धकेल्नसमेत पछि पर्दैन । 

वास्तवमा, डेमोक्रेटिक पार्टी पनि रिपब्लिकन पार्टीजस्तै आफ्ना उम्मेदवारका लागि देशव्यापी वित्त संकलन गर्ने औजार मात्र होइन, त्योभन्दा अलि बढी हो । म बाइडेनलाई दोषारोपण गरिरहेको छैन, उनले त साँचो बोलेका छन् । अमेरिकाका दुवै दलमा अहिले तिनका राजनीतिक चन्दादाता असाधारण रूपमा शक्तिशाली पक्षका रूपमा विकास भएका छन् । बाइडेन र उनका सहयोगीले यो वास्तविकतालाई लुकाएका छैनन् । बरु तिनले पार्टीको धनी वर्गले उनलाई हटाउने प्रयासको नेतृत्व गरिरहेको आरोप लगाएका छन् । यो अतिरञ्जना हुन सक्छ । मतसर्वेक्षणले बाइडेनको उमेर र उनको शारीरिक क्षयको संकेतले आमजनतालाई चिन्तित बनाएको संकेत गर्छ । तथापि बाइडेनले पार्टीका प्रमुख दाताको भने निरन्तर समर्थन पाइरहेका छन् । 

बाइडेनले ‘मर्निङ जो’ कार्यक्रममा पार्टीका शीर्ष चन्दादाताको आलोचना गरेलगत्तै त्यही अभिजात वर्गसँग भिडियो सम्मेलन गरेका थिए । न्युयोर्क टाइम्सका अनुसार, त्यस भिडियोकलमा बाइडेनले दाताहरूलाई आफू चुनावी दौडमा कायम रहिरहने जानकारी गराएका थिए । त्यस छलफलमा बाइडेनले चुनावी अभियानको मुख्य ध्यान आफूबाट हटाएर ट्रम्पतर्फ स्थानान्तरण गर्नुपर्नेमा जोड दिए । वर्तमान अमेरिकी राष्ट्रपतिको यस आग्रह बाइडेन उमेरको बहस तथा उनका शारीरिक कमजोरीमाथि बहसका लागि ठूला दाता जिम्मेवार छन् भन्ने थप प्रमाणका रूपमा आएको छ । त्यसैले त उनीहरूलाई ट्रम्पमा ध्यान स्थानान्तरण गर्न भनियो । ट्रम्पसँगको बाइडेनको चुनावी बहसपछि मैले बाइडेनले उम्मेदवारी त्याग्नुपर्छ कि पर्दैन भन्ने अनगिन्ती छलफलमा भाग लिएको छु । सम्भवतः अन्य अमेरिकी नागरिकले पनि त्यस्तो बसह गरे होलान् । तर, ती छलफल अप्रासंगिक छन् । 

आम अमेरिकी तथा डेमोक्रेटिक पार्टीका समर्थकले बाइडेनलाई चुनावी दौडमा रहिरहन वा परित्याग गर्न मनाउन पाउनेछैनौँ । एउटा सानो समूह अर्थात् डेमोक्य्राटिक पार्टीका ठूला चन्दादातामात्र यस बहसमा निर्णायक बनेका छन् । यदि तिनले बाइडेनको चुनानी अभियानलाई आर्थिक सहयोग रोक्ने निर्णय गरे भने बाइडेनको जित्ने कुनै सम्भावना छैन । अर्थात्, बाइडेनका सबैभन्दा ठूला चन्दादाताहरूले उनलाई सहयोग गर्न छाडेपछि पनि बाइडेन चुनावी दौडमा कायम रहे भने उनले स्पष्ट रूपमा हार्नेछन् । तर, बाइडेनसँगै डेमोक्य्राटिक पार्टीले पनि हार्नेछ । पछिल्ला केही दिनमा बाइडेनले आफ्नो उम्मेदवारी जोगाउन गरिरहेका दौडधूप तथा प्रयासले मैले धेरै वर्षदेखि भन्दै आएकै कुरालाई पुष्टि गरेको छ । त्यो हो, अमेरिकामा जुनसुकै पार्टी सरकारमा भए पनि वास्तविक राजनीतिक धनाढ्यको हातमा पुगेको छ ।

अमेरिकी पूर्वश्रममन्त्री रोबर्ट राइस युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेमा सार्वजनिक नीतिका प्राध्यापक हुन् ।

– द गार्जियनबाट
 

See More On

सुझावित समाचार