लामो रस्साकस्सीपछि कांग्रेस र लोसपा प्रवेश गरेसँगै जनमत नेतृत्वको मधेश प्रदेश सरकारले पूर्णता पाएको छ । विश्वासको मत लिएको दुई सातापछि मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबार कांग्रेसबाट चार र लोसपाबाट एक गरी पाँच मन्त्री थपेका हुन् ।
मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कांग्रेसका जनार्दन क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, शेषनारायण यादवलाई ऊर्जा, सिँचाइ तथा खानेपानी, सुनीलकुमार यादवलाई अर्थ र कौशलकिशोर रायलाई श्रम तथा यातायातमन्त्रीको शपथ गराएकी हुन् ।
लोसपाबाट रानी शर्मा तिवारीले शिक्षामन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छिन् । यसअघि शिक्षामन्त्री रहेका एमालेका राजकुमार लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । विनाविभागीयमन्त्रीको रूपमा शपथ लिएका जनमतका सकिल अलीलाई पनि उद्योग मन्त्रालयको जिम्मेवारी तोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मधेश प्रदेश सरकार १५ सदस्यीय बनेको छ । जसमा एमालेका चार मन्त्री र दुई राज्यमन्त्री गरी ६, कांग्रेसबाट चार मन्त्री, जनमतबाट मुख्यमन्त्री, दुई मन्त्री र एक राज्यमन्त्री गरी चार र लोसपाबाट एक मन्त्री छन् ।
मुख्यमन्त्री सिंहले दुई साताअघि नै विश्वासको मत लिए पनि मन्त्रालय बाँडफाँटमा सहमति नजुट्दा कांग्रेस र लोसपा सरकारमा गएका थिएनन् । खासगरी कांग्रेसले अर्थ मन्त्रालय नै बटमलाइन बनाएपछि समस्यामा परेका मुख्यमन्त्री सिंह अन्तिम समयमा आएर उक्त मन्त्रालय दिन तयार भएका हुन् ।
सिंह २५ जेठमा एमाले, माओवादी, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा गठबन्धन फेरिएपछि माओवादी सरकारबाट बाहिरिएको थियो । २२ असारमा एमाले, कांग्रेस र लोसपाको समर्थनमा सिंहले सभाबाट विश्वासको मत पाएका थिए ।