प्राथमिकतामा खेलाडी र प्रशिक्षक नै हुन् : जीवनराम श्रेष्ठ, अध्यक्ष, नेपाल ओलम्पिक कमिटी
पहिलो चरणमा २९ जना जाने पक्का भएको छ । ओलम्पिकका पदाधिकारी, सेभ द मिसन र खेलकुदमन्त्रीज्यू पनि जानुहुन्छ । प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा गरेका छौँ । बाँकी भनेका आफ्नो हिसाबले जाने हुन् । हामीले जानका लागि रिक्वेस्ट पनि गरेका छौँ । तर, पक्का भएको छैन । प्राथमिकतामा खेलाडी, प्रशिक्षक, म्यानेजर र अफिसियल हुन् ।
पेरिसमा हुने ग्रीष्मकालीन ओलम्पिकमा नेपालबाट खेलाडीभन्दा अफिसियल धेरै सहभागी हुने भएका छन् । ग्रीष्मकालीन ओलम्पिक ११ देखि २६ साउनसम्म फ्रान्सका विभिन्न १६ सहरमा हुँदै छ, जहाँ नेपालबाट सात खेलाडीसहित २९ जना जाने निश्चित भएको छ । ओलम्पिकको ३३औँ संस्करणमा खेलाडीबाहेक पदाधिकारी धेरै समेटिएको भन्दै विवाद पनि सुरु भएको छ । नेपालले अहिलेसम्म ओलम्पिकमा पदक जितेको छैन ।
युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सहकार्य गर्दै सात खेलाडीसँगै चार प्रशिक्षक, आठ अफिसियल, एक डाक्टर, एनओसीबाट अध्यक्ष र महासचिवसहित चार र दुई पत्रकारको टुंगो लागेको छ । यसबाहेक सेफ द मिसनका रूपमा राखेप सदस्यसचिव टंकलाल घिसिङ र नवनियुक्त खेलकुदमन्त्री तेजुलाल चौधरी पनि ओलम्पिकमा जाँदै छन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले तत्काललाई २९ जनाको तय भइसकेको र अन्यको निर्णय हुन बाँकी रहेको बताए । ‘ओलम्पिकमा जाने सबैको टुंगो लागेको छैन । हामीले पहिलो चरणमा खेलाडी, प्रशिक्षक र अफिसियलसहित २९ जनाको नाम स्वीकृत गरेका छौँ,’ श्रेष्ठले भने, ‘बाँकीको विषयमा निर्णय भएको छैन ।’
नेपालबाट समर ओलम्पिकमा चार महिला र तीन पुरुष खेलाडीसहित सातजनाले प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये टेबलटेनिसका स्यान्टु श्रेष्ठले छनोट प्रतियोगिता पार गरी स्थान बनाएका छन् । तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टपछि स्यान्टु छनोट भएर सीधै ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । अन्य खेलाडीले वाइल्ड कार्ड पाएका हुन् । युनिभर्सालिटी कोटामा एथलेटिक्सबाट धाविका सन्तोषी श्रेष्ठ, पौडीबाट डुबाना लामा र एलेक्जेन्डर शाह, ब्याडमिन्टनबाट प्रिन्स दाहाल, सुटिङबाट सुस्मिता नेपाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिक खेल्नेछन् ।
टेबलटेसिनका राजेन्द्र कपाली, जुडोकी देवु थापा, एथलेटिक्सकी कान्तिकुमारी महतो र पौडीकी नयना शाक्य प्रशिक्षकका रूपमा सहभागी हुँदै छन् । तर, ब्याडमिन्टनका प्रशिक्षक जान नपाउने भएका छन् । समयमै नाम सिफारिस नगरेपछि ब्याडमिन्टनका प्रिन्स दाहाल प्रशिक्षकविना एरिनामा निस्कनेछन् । यद्यपि, उनको स्थानमा ओलम्पिक कमिटीले एक पदाधिकारीलाई पेरिस लैजाँदै छ ।
ओलम्पिकमा जुडोका अध्यक्ष दीपकहर्ष बज्राचार्य, ब्याडमिन्टनका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सुटिङका अध्यक्ष पुष्पदास श्रेष्ठ टिम अफिसियलका रूपमा जाँदै छन् । यस्तै, टेनिसकी अध्यक्ष तथा एनओसीकी उपाध्यक्ष ज्योति राना, रेस्लिङ संघका अध्यक्ष प्रकाशकुमार कुसारी र एनओसीका सहसचिव पीताम्बर तिमिल्सिना टिम अफिसियलका रूपमा पुग्दै छन् । राखेपका आर्थिक विभाग प्रमुख रिखीराम पोखरेल अफिसियलका रूपमा मात्रै पेरिस पुग्ने सूचीमा छन् ।
ओलम्पिक र राखेपले सहकार्यमा पदाधिकारी पठाउँदा पौडी संघका निर्वाचित अध्यक्ष जगतमान श्रेष्ठ भने ओलम्पिक जाने सूचीमा छैनन् । उनको स्थानमा पूर्वअध्यक्ष अशोकरत्न बज्राचार्यलाई पठाउने निर्णय भएको छ । ४२ वर्षमा तीन साधारणसभा गरेका बज्राचार्यलाई वैशाखमा भएको चुनावी साधारणसभाले बाहिर राखेको थियो । सर्वसम्मतमा श्रेष्ठ निर्वाचित भएका थिए । तर, अन्तर्राष्ट्रिय मान्यता भने पुरानै अध्यक्षलाई छ । राखेपको प्रतिनिधिको उपस्थितिमा नयाँ ऐनअनुसार निर्वाचित श्रेष्ठ भने ओलम्पिक जान पाएनन् ।
यसबाहेक ओलम्पिकमा एनओसीका बोर्ड सदस्य र कर्मचारी गरी आठजनालाई पनि लैजाने पनि गृहकार्य भैरहेको छ । उनीहरू आफ्नै खर्चमा जाने कि एनओसीले आफ्नो खर्चमा पठाउने टुंगो भएको छैन । थप आठजना सबै एनओसीका बोर्ड सदस्य हुन् । तर, विनाजिम्मेवारी पठाउँदा विवाद हुने भएपछि एनओसीले तत्काल उनीहरूको निर्णय लिन सकेको छैन ।
अन्तर्राष्ट्रिय ओलिम्पक कमिटीले सम्बन्धित देशका प्रधानमन्त्री र खेलकुदमन्त्रीले चाहना राखेको अवस्थामा सबै सुविधा उपलब्ध गराउनेछ । सोहीअनुसार खेलकुदमन्त्री चौधरीको नाम तय भएको छ । ‘एनओसीका अध्यक्ष र महासचिवसँगै खेलकुदमन्त्री पनि जानुहुन्छ । सेभ द मिसनको रूपमा राखेप सदस्यसचिवज्यू (टंकलाल घिसिङ) पनि पुग्नुहुन्छ,’ पूर्वसंस्कृति तथा पर्यटनमन्त्रीसमेत रहेका श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यूलाई पनि निमन्त्रणा गरेका छौँ । कुनै निर्णय आएको छैन ।’
ओलम्पिकमा ६ महादेशका १० हजार पाँच सयभन्दा बढी खेलाडीले आफ्नो चुनौती प्रस्तुत गर्नेछन् । प्रतियोगितामा ३२ खेलमा ३२९ इभेन्ट्स समावेश छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले रुस र बेलारुसलाई प्रतियोगितामा सहभागी गराएको छैन ।
विवाद त हुन्छ, फेरि त्यही दोहोरिन्छ
नेपालले सन् १९६४ को पहिलोपटक टोकियो ओलम्पिकदेखि सहभागिता जनाएको हो । त्यसयता खेलाडी कम र सधैँ जम्बो टोली गएपछि विवाद हुँदै आएको छ । त्यसमाथि ओलम्पिकमा नेपाल सधैँ पदकविहीन बन्दै आएको छ । पदाधिकारी घुम्नका लागि जाने परम्पराजस्तै भएको छ ।
को–को जाँदै छन् ?
खेलाडी
१. स्यान्टु श्रेष्ठ (टेबलटेनिस)
२. सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
३. डुवाना लामा (पौडी)
४. एलेक्जेन्डर शाह (पौडी)
५. प्रिन्स दाहाल (ब्याडमिन्टन)
६. सुस्मिता नेपाल (सुटिङ)
७. मनिता श्रेष्ठ प्रधान (जुडो)
प्रशिक्षक
१. राजेन्द्र कपाली (टेबलटेनिस)
२. देवु थापा (जुडो)
३. कान्तिकुमारी महतो (एथलेटिक्स)
४. नयना शाक्य (पौडी)
टिम अफिसियल
१. अशोकरत्न बज्राचार्य (निवर्तमान अध्यक्ष, पौडी)
२. दीपकहर्ष बज्राचार्य (अध्यक्ष, जुडो)
३. रामजीबहादुर श्रेष्ठ (अध्यक्ष, ब्याडमिन्टन)
४. पुष्पदास श्रेष्ठ (अध्यक्ष, सुटिङ)
५. ज्योति राना (टेनिस संघ अध्यक्ष, एनओसी उपाध्यक्ष)
६. प्रकाशकुमार कुसारी (अध्यक्ष, रेस्लिङ संघ)
७. पीताम्बर तिमिल्सिना (सहसचिव, एनओसी)
अफिसियल
- रिखीराम पोखरेल (राखेपका आर्थिक प्रशासन शाखा प्रमुख)
डाक्टर
- नविसमानसिंह प्रधान
खेलकुदमन्त्री
- तेजुलाल चौधरी
सेभ द मिसन
- टंकलाल घिसिङ (सदस्यसचिव)
ओलम्पिक कमिटी
१. जीवनराम श्रेष्ठ (अध्यक्ष)
२. चतुरानन्द राजवैद्य (उपाध्यक्ष)
३. निलेन्द्रराज श्रेष्ठ (महासचिव)
४. सुजनलाल श्रेष्ठ (कार्यकारी सचिव)
अतिथि
पृथ्वीबहादुर पाण्डे
पत्रकार : २
थप जाने तयारीमा
- तेजबहादुर गुरुङ, रतन टन्डन,
- होम दोङ, रमेश सिवाकोटी,
- दीर्घबहादुर केसी, गोपालसुन्दर कक्षपती, टासी घले, राजन श्रेष्ठ