साउन ५ गते हेटौँडामा कोरा साइकल च्यालेन्ज हुने

बिहिबार, ३ साउन, २०८१
डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै स्वस्थ नगरका लागि यही साउन ५ गते हेटौँडामा कोरा साइकल च्यालेन्ज हुने भएको छ ।

हेटौँडा राइडर्स क्लबको आयोजनामा हुने कार्यक्रमबारे बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । क्लबका अध्यक्ष विकास ताम्राकारले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनले हेटौँडा सहरलाई साइकलसँग जोड्नुका साथै तीर्थस्थल र स्थानीय बस्तीलाई परिचित गराउन कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।

कोरा साइकल च्यालेन्ज कार्यक्रम क्लबको आयोजनामा विगत सात वर्षदेखि निरन्तर हुँदै आएको छ। अध्यक्ष ताम्राकारले करिब ५० किलोमिटर दूरीको कोरा साइकल च्यालेन्जमा दुई सय ५० जनाभन्दा बढीको सहभागिता रहने जानकारी दिए। 

अध्यक्ष ताम्राकारका अनुसार कोरा साइकल च्यालेन्जमा १२ वर्ष उमेर समूहमाथिका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन्। उनले कार्यक्रममा मकवानपुरसहित छिमेकी जिल्लाहरू चितवन, बारा, पर्सा र काठमाडौंका साइकलयात्रीहरूको सहभागिता रहने बताए ।

अध्यक्ष ताम्राकारका अनुसार कोरा साइकल च्यालेन्जअन्तर्गत हेटौँडाको प्रमुख धार्मिकस्थल भुटनदेवी मन्दिरबाट सुरु हुने साइकलयात्रा हेटौँडा बजार, सानोपोखरा, जलेश्वर महादेव मन्दिर, चौकीटोल, सामरी, शिखरकटेरी, सालकपार्क, एक्लेखेत, हटिया हुँदै बुद्धचोकमा आएर समापन हुनेछ। राइडर्स क्लबले सन् २०१८ देखि साइकल महोत्सवको रूपमा हेटौँडा कोराको आयोजना गर्दै आएको छ । 
 

सुझावित समाचार