१३ साउनमा बंगलादेशसँग पिपिए हुँदै

बिहिबार, ३ साउन, २०८१
डिजिटल संस्करण

आगामी पाँच वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता

नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्बन्धमा आगामी १३ साउनमा नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् बिक्री सम्झौता हुने भएको छ । सो दिन काठमाडौंमा एक कार्यक्रम गरी नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) र भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)बीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । यी तीनै संस्था सम्बन्धित देशका विद्युत् व्यापार गर्ने सरकारी कम्पनी हुन् । 

नेपालको ४० मेगावाट विद्युत् भारतीय प्रसारण लाइनमार्फत बंगलादेश पु¥याइनेछ । तसर्थ, भारतलाई समेत समावेश गरेर त्रिपक्षीय सम्झौता गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए । आगामी २८ जुलाई (१३ साउन) मा काठमाडौंमा हुने हस्ताक्षर समारोहमा बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद आउने पक्का भएको उनले बताए । हाल बंगलादेशमा ऊर्जामन्त्री पद भने रिक्त छ । यस्तै, भारतीय ऊर्जामन्त्री मनोहर लाललाई पनि हस्ताक्षर समारोहमा उपस्थित हुन निम्तो पठाइएको उनले बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सम्झौता भएलगत्तै बंगलादेशमा विद्युत् निर्यात गर्ने प्रक्रिया अघि बढ्ने बताए । ‘बंगलादेशमा विद्युत् निर्यात गर्न पनि निश्चित परियोजनालाई स्रोत देखाएको भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट स्वीकृत गर्नुपर्छ । सम्झौता भएलगत्तै त्यहाँ परियोजना स्वीकृतका लागि प्रस्ताव पठाउनेछौँ,’ उनले भने, ‘स्वीकृत भएको भोलिपल्टबाटै बंगलादेशमा विद्युत् निर्यात हुनेछ ।’

बंगलादेशमा भारतीय अनुदानमा बनेको २५ मेगावाटको त्रिशूली र प्राधिकरणले बनाएको २२ मेगावाटको चिलिमेको विद्युत् निर्यात गरिनेछ । भारतले उक्त दुई परियोजनाको विद्युत् आफ्नो बजारमा बिक्री गर्न यसअघि नै स्वीकृति दिइसकेको छ । ‘नयाँ परियोजना प्रस्ताव गर्दा स्वीकृत हुन समय लाग्न सक्छ । तसर्थ, भारतले यसअघि स्वीकृति दिएका परियोजनाबाट बंगलादेशमा विद्युत् बिक्री गर्ने प्रस्ताव गर्दै छौँ,’ घिसिङले भने, ‘त्यसअनुसार छिट्टै परियोजना स्वीकृत हुने विश्वास छ ।’

पाँच वर्षसम्म हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत् बंगलादेशलाई बिक्री गर्ने सम्झौता हुँदै छ । प्रसारण लाइन प्रयोग गर्न दिएबापत भारतले पनि निश्चित शुल्क पाउनेछ ।

प्रतिमहिना दुई करोड ८८ लाख युनिट र पाँच महिनामा १४ करोड ४० लाख युनिट विद्युत् बंगालादेश जानेछ । प्रतियुनिट ६.४० सेन्टमा विद्युत् बिक्री गर्दा पाँच महिनामा नेपालले २१ लाख १६ हजार डलर अर्थात् एक अर्ब २३ करोड ५३ लाख रुपैयाँ आम्दानी गर्नेछ । 

१४ र १५ साउनमा ऊर्जासचिवस्तरीय बैठक
विद्युत् खरिद–बिक्री सम्झौता भएको भोलिपल्टबाटै नेपाल–बंगलादेश ऊर्जा सहसचिव र सचीवस्तरीय बैठक हुने पक्का भएको छ । १४ र १५ साउनमा पोखरामा उक्त  बैठक हुने मन्त्रालयका प्र्रवक्ता नवीनराज सिंहले जानकारी दिए । यसअघि ९ र १० असारमा उक्त बैठक बस्ने योजना थियो । तर, यही सम्झौतालगायतका कारण त्यो मितिमा हुने भनिएको बैठक स्थगित गरिएको थियो ।  बैठकमा नेपालबाट बंगलादेशमा थप विद्युत् निर्यात गर्ने विषयमा पनि छलफल हुने प्रवक्ता सिंहले बताए । 

See More On

सुझावित समाचार