कोशी प्रदेशमा विपतका घटनामा परी एक वर्षमा ६४ जनाको मृत्यु भएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार गत आर्थिक वर्ष ०८०/८१ मा प्रदेशमा विपतका घटनाहरूमा परी ६४ जनाको मृत्यु भएको हो।
सो अवधिमा बाढीेबाट २२ जना, पहिरोबाट नाैजना, चट्याङबाट १३ जना र आगालागीबाट २० जनाले ज्यान गुमाएका छन्। गत वर्ष प्रदेशमा विपतका घटनाबाट २२० जना घाइते भएका छन्।
यसैगरी विपतका घटनामा एक वर्षमा सात हजार ९०२ वटा पशु चौपायाको मृत्यु भएको छ भने २४४ चौपाया घाइते भएका छन्। विपतमा परेर १३ वटा जंगली जनावरको मृत्यु भएको र ५७ वटा जंगली जनावर घाइते भएका कार्यालयले जनाएको छ।
कोशीमा गत वर्ष १५७ स्थानमा बाढी तथा ४९६ स्थानमा पहिरो गएको थियो। ८७ ठाउँमा चट्याङ परेको, एक हजार ७३१ ठाउँमा आगलागी भएको र १८४ स्थानमा हावाहुरीले क्षति गरेको थियो।