नवनियुक्त प्रधानमन्त्री केपी ओलीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल र डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरू, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियाे ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसको समर्थनमा ओलीले शुक्रबार प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए । ०७९ मंसिरमा आमनिर्वाचनपछिको डेढ वर्षमा चौथोपटक सत्तासमीकरण फेरिँदा प्रमुख प्रतिस्पर्धी दल कांग्रेसको समर्थन र अगुवाइमा ओली प्रधानमन्त्री बनेका छन् ।
ओलीलाई कांग्रेसका ८८ र एमालेका ७८ सांसदको समर्थन छ । यद्यपि, अन्य साना दललाई पनि सामेल गरेर ओली नेतृत्वको सरकारलाई दुईतिहाइभन्दा बढीको समर्थनप्राप्त सरकार बनाउने कांग्रेस र एमालेको योजना छ ।