बस दुर्घटनाबारे जानकारी लिन पर्साका पालिका अध्यक्ष यादव घटनास्थलमा

बस दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ जमुनियाका एकै परिवारका तीनजना परे

शुक्रबार, २८ असार, २०८१
डिजिटल संस्करण

पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव वीरगन्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको अवस्थाबारे जानकारी लिन घटनास्थलमा पुगेका छन् । 

बिहीबार राति आठ बजे वीरगन्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्सको बा.प्र ०३९००६ ख १५१६ नम्बरको बस सिमलटारमा पहिरोमा दुर्घटनामा परेपछि त्यसकै जानकारी लिन अध्यक्ष यादव घटनास्थलमा पुगेका हुन् । 

उनका अनुसार एञ्जल बस दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका– २ जमुनियाका एकै परिवारका तीनजना परेका छन् । जमुनियाका हृदयनारायण चौधरी थारू, उनकी श्रीमती भगवती थरुनी र छोरी चन्द्रप्रभा रहेका छन्। उनीहरू तीनजनाको परिवार उपचारका लागि काठमाडौं गएको जानकारीमा आएको गाउँपालिका अध्यक्ष यादवले बताए । 

स्वास्थ्यकर्मीहरूमा सखुवा प्रसौनी गाउँपालिकाको अस्पतालमा कार्यरत रेडियो ग्राफर कलैया उपमहानगरपालिकाकी सृष्टि यादव र ल्याब असिस्टेन्ट सखुवा प्रसौनी गाउँपालिका– ३ कट्या डुबरवानाका रैफुल अन्सारी रहेका छन् ।

वीरगन्जको प्रतिमाचोकबाट छुट्दा बसले दिएको यात्रुको विवरणमा गाडी साहु, चालक, सहचालकबाहेक २१ यात्रु रहेको बताइएको छ । तीमध्ये सातजना भारतीय पनि थिए । बस पर्साको रंगपुरबाट काठमाडौं चल्ने गरेको बताइएको छ ।

सुझावित समाचार