सत्ताविमुखको पीडामा परेका प्रधानमन्त्रीलाई हामी थप पीडा दिँदैनौँ : रमेश लेखक

शुक्रबार, २९ असार, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ताबाट बाहिरिँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आलोचना गरेर थप पीडा नदिने बताएका छन् ।

शुक्रबार विश्वासको मत लिने क्रममा सुरु भएको संसद् बैठकमा प्रधानमन्त्रीले बोलिसकेपछि आफ्नो भनाइ राख्ने क्रममा उनले प्रधानमन्त्रीलाई भएको पीडा आफूले बुझेको उल्लेख गरे । लेखकले प्रधानमन्त्रीले १८ महिनामा पाँचचोटि विश्वासको मत लिनु के यो स्थिरता हो ? भनेर प्रश्न गरे । उनले तीन महिनामा विश्वासको मत लिने अवस्था आउनुको जिम्मेवार व्यक्ति को हो ? भनेर प्रश्न गरे ।

तीन–तीन महिनामा विश्वासको मत लिन जान नपरोस् भनेर ठूला दलले सहमति गरेको लेखकले उल्लेख गरे ।  उनले संविधानको रक्षाको लागि हामीलाई कसैको अर्ति उपदेश नचाहिने उल्लेख गरे । संविधान पूजाकोठामा राखेर पाठ गर्ने पुस्तक नभएको उल्लेख गर्दे उनले संविधान संशोधनको कुरा उठ्दैमा कोहि अत्तालिन नपर्ने बताए । 

नेता लेखकले संविधान भनेको निरन्तर चलायनमा हुने दस्तावेज भएको उल्लेख गर्दै संविधान कार्यान्वयन गर्ने क्रममा देखिएका कमजोरी पक्षको आवश्यकताअनुसार संशोधन गर्नुपर्नेमा जोड दिए । यसमा पश्चगमन देख्नु भनेको नकारात्मक सोच भएको उनको  टिप्पणी थियो ।

सुझावित समाचार