गुल्मीमा मुसा मार्ने विष खाँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच वर्षीया बालिका गम्भीर बिरामी भएकी छिन् । इस्मा गाउँपालिका– १ ठाँटिकाचौरकी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारको मृत्यु भएको छ भने बसुन्धरा सुनारकी पाँच वर्षीया छोरी दीपशिखा सुनार गम्भीर बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए ।
पोख्रेलका अनुसार, सपना र बसन्धुराले कोदो रोप्न बारीमा छोरीहरू सँगै लिएर गएका थिए । बारीमा मुसा मार्न फालिएको विष बालिकाहरूले फेला पारेर खाएका थिए ।
विष खाएको फेला पारेपछि परिवारले बालिकाहरूलाई उपचारका लागि गुल्मी अस्पताल ल्याएका थिए । तर, प्रिन्साको मृत्यु भइसकेको घोषणा गरेको प्रवक्ता पोख्रेलले बताए ।
दीपशिखालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास पठाइएको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।