संघीय सरकारले चितवन जिल्लाका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३.८२ प्रतिशत खर्च भएको छ।
जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये चार अर्ब ४१ करोड ६९ लाख ५३ हजार ६२४ रुपैयाँ खर्च भएको हो।
संघबाट पुँजीगत खर्चका लागि पाँच अर्ब ९८ करोड ३२ लाख ३५ हजार ७८० रुपैयाँ विनियोजन भएकामा ७३.८२ प्रतिशत खर्च भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एकनारायण शर्माले जानकारी दिए। उनका अनुसार संघीय सरकारले विनियोजन गरेको चालूतर्फ ९१.६४ प्रतिशत खर्च भएको छ।
चालू खर्चका लागि विनियोजित रकम १२ अर्ब ९० करोड ३२ लाख ९८ हजार ३१३ मध्ये ११ अर्ब ८२ करोड ३६ लाख ६० हजार ३० खर्च भएको शर्माले बताए।
उनका अनुसार जिल्लामा संघीय सरकारबाट प्राप्त १८ खर्ब ८८ करोड ५६ लाख ३४ हजार ९३ मध्ये १६ अर्ब २४ करोड ६ लाख १३ हजार ६५४ खर्च भएको छ। विनियोजित कुल बजेटको ८५.९९ प्रतिशत खर्च भएको उनले जानकारी दिए।
प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये ७३.६५ प्रतिशत मात्र खर्च भएको छ । लेखा नियन्त्रण कार्यालयका प्रमुख शर्माका अनुसार प्रदेश सरकारबाट प्राप्त चालू खर्चतर्फको ७८.३६ प्रतिशत र पुँजीगततर्फ ७५.८३ प्रतिशत खर्च भएको छ।
प्रदेश सरकारले चालूतर्फ एक अर्ब ६१ करोड ९४ लाख ३० हजार ४८७ विनियोजन गरेको थियो। पुँजीगततर्फ तीन अर्ब ३६ करोड १९ लाख २८ हजार विनियोजन भएकामा दुई अर्ब ४५ करोड ९२ लाख ३१ हजार ७१० खर्च भएको शर्माले जानकारी दिए।
जिल्लामा प्रदेशबाट चार अर्ब ९८ करोड १३ लाख ५८ हजार ४८७ विनियोजित भएकामा तीन अर्ब ८१ करोड ८१ लाख ६९ हजार ६२५ खर्च भएको छ।
जिल्लाको समग्र विकासका कार्यले केही गति लिएकाले गत आर्थिक वर्षको तुलनामा चालू आवमा पुँजीगततर्फको खर्च बढेको उनले जानकारी दिए। (रासस)