डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा

सेमिफाइनलमा क्यानडा दुई–शून्य गोलले पराजित

बुधबार, २६ असार, २०८१
डिजिटल संस्करण

क्यानडामाथि २–० गोलको जित निकाल्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना कोपा अमेरिका– २०२४ को फाइनलमा प्रवेश गरेको छ। 

अर्जेन्टिना यो प्रतियोगितामा लगातार दोस्रोपटक फाइनल प्रवेश गरेको हो।

अमेरिकाको न्यु जर्सीमा नेपाली समयअनुसार आज बिहान भएको खेलमा अर्जेन्टिनाले पहिलो र दोस्रो हाफमा एक–एक गोल गर्याे। 

खेलको २३औँ मिनेटमा रोड्रिगो डे पलको पासमा आकर्षक गोल गर्दै जुलियन अल्भारेजले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

दोस्रो गोल भने अर्जेन्टिनाका कप्तान लियोनल मेसीको नाममा रह्यो । ५१औँ मिनेटमा एन्जो फर्नान्डेजले गरेको प्रहारलाई गोललाइन नजिकबाट पोस्टको दिशा दिँदै मेसीले फाइनल यात्रा सुनिश्चित गरे। मेसीको यो गोल जारी प्रतियोगिताको पहिलो हो।

खेलमा अर्जेन्टिनाले पटक–पटक गोलका अवसर सिर्जना गरेको थियो। तर, मेसीसहित अर्जेन्टिनाका भरपर्दा अट्याकरहरू फिनिसिङमा चुके। अब लगातार दोस्रोपटक उपाधि उचाल्न अर्जेन्टिनाले भोलि हुने उरुग्वे र कोलम्बियाबीचको विजयी टिमको सामना गर्नुपर्नेछ। अर्जेन्टिनाले तीन वर्षअघि सन् २०२१ मा ब्राजिललाई पराजित गर्दै उपाधि उचालेको थियो।

सुझावित समाचार