घर भत्किँदा ६ जना खेताला घाइते

बुधबार, २७ असार, २०८१
डिजिटल संस्करण

ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका– २ हम्पुखोलामा खाजा खान घरभित्र बसेका वेला घर भत्किँदा ६ जना खेताला घाइते भएका छन् । प्रेमबहादुर राईको घरजग्गामा सुमन लिम्बूले बन्दकी हालेर बस्दै थिए । दुईतले माटो तथा टिनको छाना भएको घर भत्किएको हो ।

जग्गामा सुमनले असारको धान रोपाइँका लागि खेताला बोलाएर काम गरिरहेका थिए । खेतमा मंगलबार काम गर्दै गर्दा खाना खान भनी घरभित्र पसेका वेला घर भत्किँदा ६ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख डिसपी रवि रावलले बताए । प्रेमबहार राई भने सो जग्गा सुमनलाई बन्दकीमा दिएर बेलायत बस्दै आएको बताइएको छ।  

डिएसपी रावलका अनुसार सिरिजंघा गाउँपालिका– २ निवासी ४३ वर्षीया खड्गबहादुर बानियाँ, सोही स्थान बस्ने ३८ वर्षीया जानुका बानियाँ, सोही स्थान बस्ने ३० वर्षीया सुविना बानियाँ घाइते भएका हुन् । उनीहरू कसैको शरीरको विभिन्न भागमा चोट देखिएको छ भने कसैको हात भाँचिएको छ । त्यस्तै, सिरिजंघा गाउँपालिका– २ कै ५३ वर्षकी तिलमाया विक, बालक १० वर्षका रोहित विक घाइते भएको प्रहरी प्रमुख रावलले बताए । 

घाइते सबैलाई  उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्याइएको र उनीहरूको उपचार जारी रहेको जनाइएको छ ।  

See More On

सुझावित समाचार