अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वकार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको नाममै एन्फा यू–१९ लिग फुटबल प्रतियोगिता गर्ने भएको छ । पछिल्लो समय एन्फाले एन्फा यू–१८ को नाममा लिग सञ्चालन गरेको थियो । एन्फाले मंगलबार एन्फा यू–१८ लिगको नाम आधिकारिक रूपमा ‘ललित स्मृति यू–१८ लिग’ भएको जनाएको छ । एन्फाका दिवंगत कार्यवाहक अध्यक्ष श्रेष्ठको सम्झनामा एन्फाले पछिल्लोपटक सन् २०१९ मा ललित मेमोरियल यू–१८ प्रतियोगिताको आयोजना गरेको थियो ।
यसैबीच, आयोजक एन्फाले मगलबार खेल तालिका ‘ड्र’ निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको ड्रअनुसार न्यू रोड टिम (एनआरटी) र एफसी खुमलटारबीच पहिलो खेल हुनेछ । युवा लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय क्लबसँगको पटक–पटक छलफलपछि एन्फाले ३० असारदेखि सञ्चालन गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा १२ टोलीको सहभागी हुने आयोजक एन्फाले जनाएको छ ।
एपिएफ, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल, मच्छिन्द्र, मनाङ मर्स्याङ्दी, नेपाल पुलि, एनआरटी, संकटा, सातदोबाटो, थ्री स्टार र त्रिभुवन आर्मी फुटबल क्लबले भाग लिनेछन् । लिगका सबै खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछन् । प्रतियोगिता डबल राउन्ड रोबिन ढाँचामा एक–अर्कासँग खेल्नेछन् । लिगमा फ्रेन्ड्स र हिमालयन शेर्पाले सहभागिता नजनाउने भएका छन् । राउन्ड रोबिनअनुसार हुने लिगको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।