श्रीलंकन पूर्वप्रशिक्षकसँग महिला टोलीको प्रशिक्षण

मंगलबार, २५ असार, २०८१
डिजिटल संस्करण

१२ वर्षपछि श्रीलंकामा एसिसी एसिया कप खेल्न पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली प्रशिक्षण थालेको छ । कोलम्बोमा नेपाली टोलीलाई श्रीलंकन पूर्वखेलाडी तथा मुख्य प्रशिक्षक रुमेश रत्नायेकेले प्रशिक्षण दिएका छन् । ‘नेपाली महिला क्रिकेट टिमले श्रीलंकन पूर्वखेलाडी तथा मुख्य प्रशिक्षक रुमेश रत्नायेकेसँग प्रशिक्षण गरेको छ,’ नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा महिला एसिया कप १९ देखि २८ जुलाईसम्म श्रीलंकामा हुँदै छ ।

नेपालले एसिसी एसिया कपअघि श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीविरुद्ध तीन खेल खेल्ने भएको छ । सरी भिलेजमा हुने खेल ९, १० र १६ जुलाईमा हुनेछ । सहभागिता तथा तयारी गर्न कोलम्बो पुगेको नेपाली टिमले दोस्रो दिनदेखि नै तयारी सुरु गरेको हो । नेपाली टोली आइतबार कोलम्बो पुगेको थियो । ६० वर्षीय प्रशिक्षकले नेपाली टिमसँग अनुभव साटेका छन् । रुमेशले श्रीलंकाका लागि २३ टेस्ट र ७० एकदिवसीय खेल खेलेका छन् । 

सर्वाधिक विजेता भारतसँग खेल्दै
एसिया कपमा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा सर्वाधिक सातपटकको विजेता भारतसँगै पाकिस्तान र युएई छन् । बंगलादेशले एकपटक जितेको छ । समूह ‘बी’मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् । नेपाल टेस्ट खेल्ने भारत र पाकिस्तानलाई बलियो चुनौती दिने योजनामा छ । नेपालले १९ जुलाईमा युएईविरुद्ध पहिलो खेल खेल्नेछ । पाकिस्तानविरुद्ध २१ जुलाई तथा भारतविरुद्ध २३ जुलाईमा प्रतिस्पर्धा नेपालको खेल तालिका छ ।

सुझावित समाचार