हजारौँ विस्थापित मानिसको भिड दक्षिण गाजामा केन्द्रित हुँदा पानी, औषधि र आवासमा समस्या देखिएको छ
इजरायलले निकासी आदेश दिएपछि दक्षिणी गाजामा करिब दुई लाख ५० हजार मानिस बसाइँ सरेका संयुक्त राष्ट्रले जनाएको छ । निकासी आदेशपछि गाजाको पूर्वीखान युनुस र रफाहलगायत क्षेत्रमा युद्धबाट प्रभावित मानिसहरू बसाइँ सरेका मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए)ले जनाएको हो । विस्थापनका कारण त्यहाँका मानिसहरूलाई अत्यावश्यक वस्तुको अभाव भएको छ । विस्थापितमध्ये कतिपय पश्चिमी खान युनुस र देइर अल बलाहतर्फ पनि लागेको बताइएको छ । ती क्षेत्र पहिले नै भिडभाडयुक्त थिए । त्यहाँ आवश्यक सेवा, महत्वपूर्ण पूर्वाधार, आश्रय सामग्री र पर्याप्त ठाउँको अभाव थियो ।
ओसिएइचएका अनुसार खान युनुसको एक क्षेत्रमा नौ हजारभन्दा बढी विस्थापित परिवार र देइर अल बलाहको क्षेत्रमा करिब एक हजारभन्दा बढी घरपरिवार बसिरहेका छन् । यी सबै परिवारलाई सुरक्षित पिउने पानीको अभाव छ । त्यहाँ मानिसहरू हरेक दिन पानी संकलन गर्न लामो समयसम्म लाइन बस्न बाध्य रहेको मानवतावादीले जनाएका छन् । बालबालिका महिनाौँदेखि विद्यालयबाहिर छन् । स्थान र सामग्रीको अभावले मानवीय साझेदारलाई शिक्षा सेवा प्रदान गर्नबाट रोकेको छ । एउटा विस्थापन स्थलमा बालबालिकाले आफ्नो अधिकांश समय अनौपचारिक डम्पिङ क्षेत्रनजिकै बाहिर बिताउँछन् भने उनीहरूका अभिभावले पानीजन्य र छालाका रोगमा वृद्धि भएको जनाएका छन् । कुनै पनि क्षेत्रमा स्वास्थ्य केन्द्र उपलब्ध छैन । सबैभन्दा नजिकका चिकित्सा सेवा कम्तीमा तीन किलोमिटर टाढा छन् । ओसिएइचएले खान युनुसको युरोपेली गाजा अस्पताल अहिले खाली रहेको बताएको छ । सबै बिरामीलाई बाहिर निकालिएको थियो ।
दक्षिणी गाजामा केरेम सालोम क्रसिङमा आवागमनमा सुरक्षा जोखिमपछि हालै पूर्वी खान युनुस क्षेत्रमा निकासी आदेश दिइएको थियो । निकासी आदेशमा सालाह एड–दिन रोडका केही भाग पनि समेटिएको छ । यो क्षेत्र मानवीय सामान र कर्मचारीका लागि महत्वपूर्ण मार्ग हो । ओसिएइचएले विस्थापितलाई आश्रय दिने केही साइटको मूल्यांकन गरेको छ । बसाइँ सरेकाहरू हतारमा भागेको जनाइएको छ । विस्थापन स्थलमा आश्रय र सरसफाइको अवस्था खराब छ । मानिसहरू पर्याप्त कपडाको अभावमा ठोस फोहोर र भग्नावशेषबीचमा सुत्नुपरेको जनाइएको छ । कतिपयले आंशिक रूपमा नष्ट भएका संयुक्त राष्ट्रका अस्थायी आश्रयस्थलमा आश्रय पाएका छन् । कतिपय परिवारका सदस्य सम्पर्कबाहिर रहेको जनाइएको छ ।
ओसिएइचएले शत्रुता र पहुँच अवरोधले गाजाभरि सयौँ हजार मानिसलाई जीवन बचाउने सहायताको वितरणमा गम्भीर रूपमा बाधा पुर्याउने बताएको छ । सोमबार र बिहीबारको बीचमा उत्तरी गाजामा १३ वटा योजनाबद्ध मानवीय सहायता मिसनमध्ये केवल एकलाई इजरायली अधिकारीले स्वीकृति दिएका थिए । गाजामा इन्धनको अभावले स्वास्थ्य सेवाको प्रावधानमा बाधा पुर्याइरहेको ओसिएचएको कार्यालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले इन्धनको गम्भीर अभावका कारण स्वास्थ्य सेवामा थप अवरोध आउने बताए ।
टेड्रोसले गाजामा केवल ९० हजार लिटर इन्धन प्रवेश गरेको, तर स्वास्थ्य क्षेत्रलाई मात्रै दैनिक ८० लिटर चाहिने बताए । सेवा अवरुद्ध हुनबाट रोक्न महत्वपूर्ण अस्पतालमा सीमित इन्धन आपूर्तिको साथ, संयुक्त राष्ट्रसंघ र यसका साझेदार असम्भव छनोट गर्न बाध्य छन् । ओसिएइचएले इन्धनको अभावले गाजामा पानी, सरसफाइ पूर्वाधार र जीवनस्तरमा गम्भीर असर परेको बताएको छ । मानवीय साझेदारले पानीलगायतका सुविधाहरू सञ्चालन गर्न ईन्धन अभावको सामना गरेका छन् । प्रभावित क्षेत्रमा पानी तान्ने पम्प बन्दको स्थितिमा रहेका छन् । मध्य र दक्षिणी गाजाका दुईवटा डिसेलिनेसन प्लान्टले पनि इन्धनको अभावका कारण आइतबार र सोमबार सञ्चालन स्थगित गर्नुपरेको ओसिएइचएले जनाएको छ ।