- प्रदर्शनका क्रममा सिजेपीका संस्थापक अभिजित दिपकेदेखि तृणमूल कंग्रेसकी प्रमुख ममता बनर्जी, आम आदमी पार्टीका संयोजक अरविन्द केजरिवालसहित तीन पूर्वमुख्यमन्त्री, केही पत्रकार र युट्युबरसम्म पक्राउ
निर्वाचन नामावलीमा भएका अनियमिततालाई लिएर प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै कक्रोच जनता पार्टी (सिजेपी)ले दिल्लीमा शनिबार आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरीले व्यापक धरपकड गरेको छ । प्रहरीले सिजेपीका संयोजक अभिजित दिपकेसहित सयौँ प्रदर्शनकारी तथा समर्थकलाई नियन्त्रणमा लिएको छ । विरोध प्रदर्शनबिच पश्चिम बंगालका पूर्वमुख्यमन्त्री ममता बनर्जी, दिल्लीका पूर्वमुख्यमन्त्री अरबिन्द केजरिवाल, त्रिपुराका पूर्वमुख्यमन्त्री माणिक सरकार र केरलाका पूर्वमुख्यमन्त्री पिनाराई विजयनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
तृणमूल कंग्रेसकी प्रमुखसमेत रहेकी बनर्जी र पार्टीका अन्य नेताले साउथ एभिन्युको बस स्ट्यान्डमा विरोध प्रदर्शन गर्ने क्रममा दिल्ली प्रहरीले नियन्त्रणमा लिएको हो । बनर्जीसँगै त्रिणमूलका केही सांसद पनि पक्राउ परेका तृणमूल कंग्रेस (टिएमसी) का प्रवक्ता साकेत गोखलेले बताए । बनर्जी र पार्टीका अन्य नेताले साउथ एभिन्युको बस स्ट्यान्डमा विरोध प्रदर्शन गर्ने क्रममा दिल्ली प्रहरीले नियन्त्रणमा लिएको एनडिटिभीले जनाएको छ । प्रदर्शनमा विपक्षी पार्टी, सामाजिक अभियन्ता, विद्यार्थीको उपस्थिति थियो ।
विमानस्थलबाटै पक्राउ परे दिपके
ज्ञानेश कुमारविरुद्धको प्रदर्शनमा सहभागी हुन जाने क्रममा सिजेपीका संस्थापक अभिजित दिपके सवार विमान अवतरण गरेलगत्तै दिल्ली प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । दिपकेसँगै सौरभ दास र आशुतोष रांकालगायत पार्टीका अन्य नेता पनि पक्राउ परेका छन् । एयर इन्डियाको विमानभित्रको एउटा भिडियोमा महिला प्रहरीले ३० वर्षीय दिपकेलगायतका अन्य नेतालाई नियन्त्रणमा लिइरहेको देख्न सकिन्छ । मुम्बईबाट आएका दिपकेले प्रहरीलाई भन्छन्, ‘म यहाँ पक्राउ पर्नकै लागि आएको हुँ । मलाई पक्राउ गर्नुहोस् । म तपाईंहरूसँग डराउँदिनँ ।’ त्यसको जवाफमा एक प्रहरीले भने, ‘होइन, यो पक्राउ होइन । सर, कृपया सहयोग गर्नुहोस् ।’ त्यसपछि दिपकेले आग्रह गरे, ‘मलाई मेरो झोला बोक्न दिनुहोस् ।’ जन्तरमन्तरनजिकैबाट झन्डै हजारजना सिजेपी समर्थकलाई पक्राउ गरिसकिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दिपकेको पक्राउपछि सिजेपीको संगठन प्रमुख अजिन्क्य सिन्देले आन्दोलनको नेतृत्व गरेका थिए ।
युट्युबरदेखि पत्रकारसम्म पक्राउ
आन्दोलनको समर्थन गर्ने चर्चित युट्युबर तथा राजनीतिक टिप्पणीकार ध्रुव राठी पनि पक्राउ परेका छन् । राठीलाई उनको गुरुग्रामस्थित निवासबाट शनिबार बिहान नियन्त्रणमा लिएको हो । दिल्लीको जन्तरमन्तरमा कक्रोच जनता पार्टी (सिजेपी) द्वारा आयोजना गर्न लागिएको विरोध प्रदर्शनमा सहभागी हुन जान लाग्दा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै आन्दोलनको समाचार रिपोर्टिङ गर्न गएका केही पत्रकारलाई पनि प्रहरीले पक्राउ गरेको छ । निर्वाचन नामावलीमा भएका अनियमिततालाई लिएर मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै सिजेपीले दिल्लीमा आयोजना गरेको विरोध प्रदर्शनको समर्थन गरेका थिए । राठीले शुक्रबार सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरी आफू प्रदर्शनमा सहभागी हुने जनाएका थिए । सुरुमा प्रहरीले राठीलाई प्रदर्शनमा सहभागी नहुन आग्रह गरेको थियो । तर, उनले अस्वीकार गरेपछि गुरुग्राम प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राठी यसअघि ८ अक्टोबरमा बेंगलुरुमा भएको सिजेपीको प्रदर्शनमा सहभागी भएका थिए ।
रेलसेवादेखि इन्टरनेट बन्द
शनिबार विरोध प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो । राष्ट्रिय राजधानीमा चालीस हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो भने जन्तरमन्तरआसपासका क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो । त्यस्तै, दिल्लीका अधिकांश मेट्रो स्टेसन, रेल सेवा बन्द गरिएका थिए भने प्रदर्शन स्थलआसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध गरिएको थियो । यसअघि नै दिल्ली प्रहरीले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै उक्त प्रदर्शनका लागि अनुमति दिएको थिएन । प्रहरीले प्रदर्शन स्थलतर्फ अघि बढ्न खोज्ने सयौँ प्रदर्शनकारीलाई दिल्लीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो ।
भोक हड्ताल गर्ने वाङचुकको चेतावनी
भारतका चर्चित पर्यावरण अभियन्ता सोनम वाङ्चुकले देशमा अघोषित संकटकाल लागेको आरोप लगाएका छन् । पक्राउ परेकालाई आइतबारसम्म रिहा नगरिए फेरि भोक हड्ताल वा विरोधस्वरूप पैदलयात्रा गर्ने चेतावनी उनले दिएका छन् । ‘भारत अघोषित आपत्कालीन अवस्थामा छ,’ सिजेपीका अभिजित दिपकेलगायत अन्य व्यक्तिलाई गरिएको सामूहिक पक्राउको विरोध गर्दै उनले एक्समा लेखेका छन् । निर्वाचनमा भएको भनिएको अनियमितता तथा निर्वाचन आयोग र सत्तारुढ भाजपाबिचको ‘मिलेमतो’को विरोधमा नयाँदिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्न सिजेपी र विपक्षी दलका नेतालाई रोक लगाइएको सन्दर्भमा उनले थपे, ‘यदि उनीहरूलाई भोलिसम्म रिहा गरिएन भने म भोक हडताल वा पदयात्रा गर्नेबारे सोच्न बाध्य हुनेछु ।’
शनिबारको प्रदर्शनमा प्रहरीले पन्ध्र सयभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । जुलाई महिनामा शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य पार्ने सिजेपीको पहिलो विरोध प्रदर्शनको मुख्य अनुहार बनेका अभियन्ता वाङचुक शनिबारको युवा आन्दोलनको प्रदर्शनमा उपस्थित भने थिएनन् । लद्दाखस्थित घरमा अन्य महत्वपूर्ण काममा व्यस्त रहेका उनले आन्दोलनको समर्थनमा प्रतिक्रिया जनाएका हुन् ।
लोकतन्त्रको मुख थुनियो : खर्गे
पक्राउको घटनापछि विपक्षी कंग्रेस पार्टीका अध्यक्ष मल्लिकार्जुन खर्गेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको कडा आलोचना गरेका छन् । ‘मोदी सरकारले ‘लोकतन्त्रकी जननीलाई’ ‘मुख थुनिएको’ लोकतन्त्रमा परिणत गरेको छ !’ उनले एक्समा लेखेका छन् । देशको भविष्य निर्माणमा युवाहरू अग्रमोर्चामा रहँदै आएका उनको भनाइ छ । हिरासत र गिरफ्तारीले भारतीय जनतालाई विचलित पार्न नसक्ने उनको भनाइ थियो । ‘हिरासत, गिरफ्तारी, जेल, लाठी र छर्राले भारतीय जनतालाई रोक्न सक्दैनन् । हाम्रो स्वतन्त्रता संघर्षको समयदेखि नै देशको भविष्य निर्माणमा युवाहरू अग्रपंक्तिमा रहँदै आएका छन्,’ उनले थपे । खर्गेले ‘भाजपा–आरएसएसको कायरता छर्लंग देखिएको’ आरोप लगाए । सत्तासँग प्रश्न गर्ने युवा, विद्यार्थी, वकिल, पत्रकार, सामाजिक अभियन्ता, किसान संगठनका नेता, युट्युबर, कन्टेन्ट क्रियटर जोकोहीलाई पनि हिरासतमा लिइएको उनले आरोप लगाए । कंग्रेसले विपक्षी दलहरूसँग मिलेर मोदीको ‘निरंकुश शासन’विरुद्ध कडा संघर्ष गर्ने उनले बताए ।
एमनेस्टी इन्टरनेसनलले गर्यो धरपकडको निन्दा
अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले प्रदर्शनकारीमाथि व्यापक धरपकड भएको भन्दै मोदी सरकारको आलोचना गरेको छ । पक्राउले भारतीय सरकारको ‘आलोचनात्मक आवाज दबाउने’ हतास प्रयासलाई संकेत गरेको एम्नेस्टीको ठहर छ । एम्नेस्टी इन्टरनेसनल इन्डियाका बोर्ड अध्यक्ष आकार पटेलको भनाइ उद्धृत गर्दै अलजजिराले लेखेको छ, ‘अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकारको प्रयोग गरेकै कारण मात्र पक्राउ परेका सबै व्यक्तिलाई अधिकारीहरूले तत्काल र बिनासर्त रिहा गर्नुपर्छ ।’
त्यस्तै, कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स’ (सिजेपी)ले भारतीय प्रहरीलाई ‘पत्रकारको सम्मान गर्न’ आग्रह गरेको छ । सिजेपीका एसिया–प्रशान्त कार्यक्रम संयोजक कुनाल मजुमदारले अलजजिरासँग कुरा गर्दै भने, ‘हामी दिल्ली प्रहरीसँग हिरासतमा लिइएका सबै पत्रकार तथा सञ्चारकर्मीलाई तत्काल रिहा गर्न र अवरोधविना समाचार संकलन गर्न दिन आग्रह गर्छौं ।’