भरतपुर महानगरपालिका– ६, गीतानगरका राजेश शर्मालाई दिनहुँ नारायणगढ बजार पुग्नुपर्छ। तर, बजारमा फोहोरको थुप्रो नारायणगढ पुग्न सकस हुन्छ । ‘फोहोरको डंगुर छ। सास फेर्न मुस्किल पनि हुन्छ,’ उनले भने।
भरतपुर महानगरले फोहोर विस्थापन गर्दै आएको नारायणी नदीमा जलस्तर बढेपछि दुई हप्तादेखि भरतपुर सहरको फोहोर सडकमै छ । दैनिक ८० टन फोहोर निस्कने महानगरको व्यवस्थित ल्याण्डफिल साइट नहुँदा यो समस्या आएको हो ।
भरतपुर महानगर सरसफाइ शाखा प्रमुख सुरज पौडेलका अनुसार नारायणी नदीछेउमा अहिले फोहोर फाल्न सकिने स्थिति छैन। ‘खोला बढ्दा गाडी जान सक्दैन, वैकल्पिक ठाउँ खोज्दा पाएको छैन,’ उनले भने, ‘कसैले पनि आफ्नो वडा क्षेत्रमा फोहोर विसर्जन गर्न दिएका छैनन्।’
भरतपुरले फोहोर संकलन गरेर भरतपुर–३ नगरवन आडको नारायणी किनारमा थुपार्ने र पुर्ने गर्छ। बर्खा लागेसँगै नारायणी नदीमा जलस्तर बढेपछि महानगरपालिकाले फोहोर व्यवस्थापन गर्ने विकल्प छैन। अहिले नारायणगढको सबैजसो चोक, सडक र गल्लीमा थुप्रिएको फोहोर र त्यसबाट बगेको लिचेडले दुर्गन्ध फैलाउन थालेको छ। यसले सडकमा हिँडडुल गर्ने मात्र होइन, स्थानीय व्यवसायीलाई पनि थप सताउन थालेको देखिन्छ।
नारायणगढमा चस्मा पसल सञ्चालन गरिरहेका रमेश गैरे फोहोरको डंगुरका कारण ग्राहकको संख्या घटेको गुनासो गर्छन्। ‘टोल नै गन्हाउने वेलासम्म महानगरले वास्ता गरेको छैन,’ उनी भन्छन्, ‘किन फोहोर नउठेको केही थाहा छैन, हामीलाई भने बसिनसक्नु भइसक्यो।’
किन बन्न सकेको छैन भरतपुरमा ल्यान्डफिल्ड साइट
चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदीको पर्यावरणीय महत्त्व ख्याल नगरी नदी आडमै महानगरले वषौँदेखि भरतपुरको फोहोर फाल्ने गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको गृहनगर र गृहमन्त्री रवि लामिछानेको निर्वाचन क्षेत्र भरतपुरमा फोहोर व्यवस्थापनका निम्ति अत्यावश्यक मानिएको ल्यान्डफिल्ड साइटको काम भएको देखिँदैन। यद्यपि, फोहोर व्यवस्थापनका लागि काम गर्दागर्दा पनि सफल हुन नसकेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल बताउँछिन्।
विगतमा कोरियन सरकारको सहयोगमा फोहोर व्यवस्थापनका लागि काम गर्ने भनेर अघि बढ्दा कोभिड र विभिन्न कारण देखाएर उक्त कम्पनी फिर्ता भयो। ‘अब हामी आफ्नै ढंगबाट लागेका छौँ,’ दाहालले भनिन् – पछिल्लो समय जग्गाका कारणले समस्या भएको छ। स्थानीय सरकारको मुख्य काम फोहोर व्यवस्थापन हो। हाम्रो कार्यकाल अझै ३ वर्ष छ। ढिलो भए पनि राम्रो हुन्छ।’