जिल्ला प्रहरी परिसर काठमाडौंको सुविधायुक्त भवन तयार

कुल लागत ८० करोड, २६ असारदेखि नयाँ भवनबाट सेवा

शुक्रबार, २१ असार, २०८१
डिजिटल संस्करण

संघीय राजधानी काठमाडौंको सुरक्षा जिम्मा पाएको जिल्ला प्रहरी परिसर काठमाडौंको सुविधासम्पन्न नयाँ भवन तयार भएको छ । भद्रकालीस्थित उक्त भवनबाट परिसरले २६ असारबाट नियमित सेवा प्रवाह गर्ने भएको छ । 

रामशाहपथस्थित कृषि विकास बैंकको ठीक पछाडि १५ रोपनी जग्गामा परिसरको अत्याधुनिक भवन रहेको छ । ८० करोड रुपैयाँमा कुल लागतमा बनेको भवन आठ तलाको छ । कुल क्षेत्रफलमध्ये भवन ‘स्ट्रक्चर’ मात्रै ६ रोपनीमा फैलिएको छ । अत्याधुनिक लिफ्टसहितको परिसर भवनको उद्घाटन नेपाल प्रहरीका प्रमुख आइजिपी वसन्त कुँवरले गर्ने तय भएको छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले परिसर कार्यालय २६ असारमा सर्ने बताए । उनले भने, ‘भद्रकालीस्थित उक्त भवनमा २६ असारमा परिसर कार्यालय सर्नेछ । आइजिपीले नयाँ भवनमा कार्यालय उद्घाटन गर्ने कार्यक्रम बनेको छ ।’

यस्तो छ नयाँ भवन
काठमाडौं परिसरका अनुसार भवनको मुख्य भागमा परिसरमा कार्यरत एसएसपीदेखि प्रहरी निरीक्षकसम्मको छुट्टाछुट्टै कक्ष छन् । पिलरअनुसार विभाजन गरिएका कार्यकक्ष दर्ता हुने मुद्दा र सेवाग्राहीको चापका दृष्टिले निर्माण गरिएका छन् । भवनभित्र प्रहरीका लागि ब्यारेकसमेत छ । भवनमा हिरासत कक्ष निर्माण गरिएको छ । कार्यालयमा प्रहरीका लागि व्यायाम कक्ष रहनेछ । सर्वसाधारणको उजुरी लिने कक्षसमेत भवनमा रहनेछ । 

पार्किङका लागि अन्डरग्राउन्डमा ठाउँ छुट्याइएको छ । जहाँ एक सय गाडी र दुई सयभन्दा बढी मोटरसाइकल अटाउँछन् । भवनभित्र एकैपटक दुई सयजना अटाउने कन्फरेन्स हल छ । एक सयजना अटाउने अर्को बैठक कक्ष पनि छ । प्रहरीका लागि सुविधासम्पन्न मेस, टेलरिङ कक्ष, नास्ता कक्ष तथा मनोरञ्जन कक्ष पनि भवनभित्र निर्माण गरिएका छन् । 

भवनको प्रत्येक कक्षमा प्रकाशको राम्रो पहुँच छ । जसमा वास्तु विज्ञानलाई समेत ध्यान दिइएको छ । विशेषगरी कार्यालयका प्रमुख, उपप्रमुख तथा विशेष जिम्मेवारीमा रहने अधिकृतको कार्यकक्ष निर्माणमा ध्यान दिइएको छ । भवनको प्रवेशद्वार पनि आकर्षक बनाइएको छ ।

आधुनिक प्रविधिको उच्चतम प्रयोग
भवनभित्र आधुनिक प्रविधिलाई उच्चतम प्रयोग गरिएको छ । भवनको सम्पूर्ण भाग समेट्ने गरी सिसीटिभी जडान, अभियुक्तसँग बयान लिन अन्तर्राष्ट्रियस्तरको ‘इट्रोगेसन रुम’, अभियुक्तको म्याद थप हिरासत कक्षबाटै हुने व्यवस्था मिलाइएको छ । भिडियो कन्फरेन्स गर्न सकिने गरी अत्याधुनिक हलको डिजाइनसमेत गरिएको छ । परिसरका प्रवक्ता एसपी अधिकारीले भने, ‘भवन अत्याधुनिक शैलीमा बनेको छ । उपलब्ध भएसम्मका सबै सुविधा जडान गरिएको छ । ‘मास अरेस्ट’मा परेकाहरूलाई राख्ने छुट्टै हिरासत कक्ष छ ।’

वसन्तपुरस्थित हनुमानढोकामा रहेको परिसर १२ वैशाख ०७२ को भूकम्पपछि विस्थापित भएर टेकुमा पुगेको थियो । टेकुस्थित नेसनल ट्रेडिङ (हाल नेपाल आयल निगमको स्वामित्व)को भवन र खाली रहेको जग्गामा अस्थायी रूपमा सारिएको थियो । 

अपराध अनुसन्धान टेकु सर्ने 
जिल्ला प्रहरी परिसर काठमाडौं आफ्नो नयाँ भवनमा सरेसँगै टेकुस्थित परिसर रहेको आयल निगमको भवनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय सर्ने भएको छ । अपराध अनुसन्धान कार्यालय हाल मिनभवनमा भाडाको भवनमा छ । उसको पनि नयाँ भवन टेकुमा निर्माण भइरहेको छ । निर्माण सम्पन्न नभएसम्मका लागि सो कार्यालय प्रयोग गर्न दिन प्रहरीले गृह मन्त्रालय हुँदै उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयलाई पत्राचार गरिसकेको छ । वाणिज्य मन्त्रालय पनि त्यसमा सकारात्मक रहेको एक प्रहरी अधिकारीले बताए । 

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारी भन्छन्-भद्रकालीस्थित यस सुविधासम्पन्न भवनमा २६ असारमा परिसर कार्यालय सर्नेछ । भवनभित्र आधुनिक प्रविधिलाई उच्चतम प्रयोग गरिएको छ । भवनको सम्पूर्ण भाग समेट्ने गरी सिसीटिभी जडान, अभियुक्तसँग बयान लिन अन्तर्राष्ट्रियस्तरको ‘इट्रोगेसन रुम’, अभियुक्तको म्याद थप हिरासत कक्षबाटै हुने व्यवस्था मिलाइएको छ । भिडियो कन्फरेन्स गर्न सकिने गरी अत्याधुनिक हलको डिजाइनसमेत गरिएको छ । 

See More On

सुझावित समाचार