रास्वपाले विश्वासको मतसम्म प्रधानमन्त्रीलाई साथ दिने, तत्काल मन्त्रीहरूले राजीनामा नदिने

बिहिबार, २१ असार, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत लिने दिनसम्म साथ दिने भएको छ । प्रधानमन्त्री प्रचण्डको आग्रहमा रास्वपा यो निष्कर्षमा पुगेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

उनका अनुसार सभापति रवि लामिछाने मन्त्रीहरूको राजीनामा बुझाउन आज बिहान बालुवाटार पुगेका थिए। ‘प्रधानमन्त्रीज्यूलाई रास्वपाका तर्फबाट सरकारमा भएका मन्त्रीहरूको राजीनामा दिन बालुवाटार आएका थियौँ,’ परियारले भने, ‘प्रधानमन्त्रीज्यूले राजनीतिक घटनाक्रम जसरी अगाडि बढेको छ, त्यसमा मैले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु । संसद्लाई फेस गर्छु । संसदबाट जनताका प्रतिनिधिले मलाई प्रधानमन्त्री बनाएको हो । मैले संसदबाट जवाफ दिनुपर्छ । संसद् फेस गर्दा तपाईंहरूले मलाई साथ दिनुपर्छ भन्नुभयो । हामीले उहाँको त्यो संवैधानिक अधिकारलाई सम्मान गर्दै विश्वासको मत लिन चाँडै लिन अनुरोध गरेका छौँ ।’ 

रास्वपाबाट सभापति लामिछाने गृह, डोलप्रसाद अर्याल श्रम, विराजभक्त श्रेष्ठ खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री छन् ।  
प्रमुख सचेतक परियारले प्रधानमन्त्रीको संवैधानिक अधिकारलाई सम्मान गर्ने निष्कर्षमा आफूहरू पुगेको बताए । ‘तर, तत्काल जतिसक्दो चाँडो संसद् फेस गर्ने प्रबन्ध मिलाउनुहोस् भनेका छौँ । हामी पनि पार्टीमा छलफल गर्छौँ,’ उनले भने । 
परियारले आफूहरू अर्को गठबन्धन र सरकारमा नजाने स्पष्ट पारे । ‘त्यो गठबन्धन विश्वास गर्न लायक छैन,’ उनले भने ।
 

सुझावित समाचार