सातौँ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता सम्पन्न

आइतबार, १६ असार, २०८१
डिजिटल संस्करण

सातौँ संस्करणको स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता २०८१ शनिबार राति सम्पन्न भएको छ। काठमाडौंको टोखा नगरपालिकामा आयोजना भएको प्रतियोगितामा विजयीलाई पुरस्कार, मेडल र प्रमाणपत्र दिइएको छ।

प्रतियोगितामा महिला खुला च्याम्पियनसिपतर्फ खुसी विके प्रथम, समीक्षा राई दोस्रो, लेमंग मगर तेस्रो भए। पुरुष जुनियरतर्फको खुला च्याम्पियनसिपमा किरण लामा गुरुङ प्रथम, यमबहादुर कामु दोस्रो र अविशेष परिवार तेस्रो भएका छन्।

आयोजक नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका सत्य थापाका अनुसार सिनियर पुरुष च्याम्पियनसिपतर्फ वसन्त राई प्रथम, शरद राई दोस्रो र  पेन्थलिन शेर्पा तेस्रो भए। सबै विधामा प्रथम हुनेलाई २५ हजार रुपैयाँ, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १८० जुनियर तथा सिनियर पुरुष र ७० जुनियर तथा सिनियर महिला खेलाडी सहभागी थिए।  ती खेलाडीलाई  खुला सिनियर पुरुष, खुला जुनियर पुरुष, खुला महिला स्केटिङ च्याम्पियनसिप गरेर तीनवटा विधमा खेलाइएकोे थियो ।

प्रतियोगिता आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गरेको थियो।

सुझावित समाचार