सुरुवाती मूल्य ४६ लाख ९६ हजार
केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इ–मोबिलिटीले केईको इलेक्ट्रिक एसयुभी एक्स–३ प्रोको बुकिङ खुला गरेको छ । कम्पनीले काठमाडौंको भाटभटेनीमा सोरुम सञ्चालनमा ल्याएसँगै एक्स–थ्री प्रोको मोडेल दुई भेरियन्टमा बुकिङ खुला गरेको हो ।
केई एक्स–३ प्रोको डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रहेको छ । कटिङ एज टेक्नोलोजी, स्लिक डिजाइन र उत्कृष्ट पर्फमेन्स दिन सक्ने एक्स–३ प्रो मोडेल कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सानदार मोडेल बन्ने कम्पनीले विश्वास लिएको छ ।
यसमा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ । सिएलटिसीका अनुसार यसले सिंगल चार्जमा चार सय एक किलोमिटर रेन्ज दिनेछ ।
यसलाई सात किलोवाट क्षमताको एसी चार्जरले आठ घण्टामा फुल चार्ज गर्न सकिन्छ । साथै, सय किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयुभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
पाँच सिट क्षमताको एसयुभीमा २६३२ एमएम लामो ह्विलबेस रहनेछ । यसमा १८३ एमएमको ग्राउन्ड क्लियरेन्स छ । एक्स–३ प्रो सुरक्षाका लागि एयरब्याग, ३६० डिग्री क्यामरा, टायर प्रेसर मोनिटरिङ सिस्टमसँगै एडास फिचर रहेका छन् । सुरक्षाका हिसाबले राम्रो रहेको ब्याट्रीसहित सबै किसिमका मोटरलगायत इलेक्ट्रिकल कम्पोनेन्टमा आठ वर्षको वारेन्टी रहेको छ ।