एनसेलको र्‍यापिड रेस्पोन्स टिमले थाल्यो काम

आइतबार, १६ असार, २०८१
डिजिटल संस्करण

विपत् पूर्वतयारी र प्रतिकार्यका लागि एनसेलले गठन गरेको र्यापिड रेस्पोन्स टोली (आरआरटी)ले काम थालेको छ । यसले हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमै पुनः सञ्चालनमा ल्याउन सम्भव भएको कम्पनीले जनाएको छ । एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको छ । 

हावाहुरी र भारी वर्षाका कारण १२ असारमा कोसी, मधेश र गण्डकी प्रदेशका १५ भन्दा बढी जिल्लाका एक सय १६ मोबाइल टावर सञ्चालनमा असर गरे पनि चार घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशतभन्दा बढी टावर पुनः सञ्चालनमा ल्याइएको थियो । आरआरटीलाई विशेष रूपमा आपत्कालीन अवस्था सम्हाल्दै सकेसम्म चाँडो सेवा पुनः सुचारु गर्न तालिम दिइएको छ ।  

यसैगरी, एनसेलले विपत् पूर्वतयारीस्वरूप फिल्डमा खट्ने जनशक्ति १० प्रतिशतले बढाएको छ । विपत्को समयमा विद्युत् आपूर्ति अवरुद्ध हुने कुरालाई मध्यनजर गरेर एनसेलले आफ्ना टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको छ । विद्युत्को आपूर्तिमा समस्या आएमा ब्याट्रीले चारदेखि ६ घण्टासम्म टावर सञ्चालन गर्न मद्दत गर्छ ।

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमबारे एसएमएस अलर्टमार्फत पूर्वजानकारी प्रदान गर्दै आएको छ । गत वर्ष मात्र एनसेलले एक करोडभन्दा बढी यस्ता एसएमएस अलर्ट पठाएको थियो । विभागको टोल–फ्री सेवा ११५५ मा डायल गरेर बाढीसम्बन्धी पूर्वसूचना लिन पनि सकिन्छ ।

See More On

सुझावित समाचार