ठूला र बलिया देशका स्वार्थका पछाडि लाग्नुहुँदैन : अध्यक्ष ओली

शुक्रबार, १४ असार, २०८१
डिजिटल संस्करण
ठूला र बलिया देशका स्वार्थका पछाडि लाग्नुहुँदैन : अध्यक्ष ओली

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी ओलीले ठूला र बलिया देशका स्वार्थका पछाडि लाग्न नहुने बताएका छन्।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा शुक्रबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो बताएका हुन्।

‘हामी ठूला र बलिया देशका खेलमा पस्नै हुँदैन। ग्लोबल कम्पिटिसनको म्याराथनमा हामी छैनौँ। हामी इकोनोमिक डेभलपमेन्टको म्याराथनमा पनि छैनौँ,’ ओलीले भने, ‘तर, हामीलाई निर्विवाद शान्ति चाहिन्छ। कसैको प्रतिस्पर्धाले हामीलाई घच्चपच्च हुनुभएन।’

ओलीले बलिया राष्ट्रहरूको स्वार्थको प्रतिस्पर्धा र टकरावको बाछिटाले नेपालको राष्ट्रिय हित र स्वार्थ कमजोर हुन नहुनेमा जोड दिए। ‘अरूको टकरावको झिल्काले हाम्रो घर डढ्नुभएन । यहाँनेर हामी भूराजनीतिलाई हेर्छौँ। भूराजनीति हाम्रो देशको राष्ट्रिय स्वार्थ कमजोर बनाउन होइन, आन्तरिक रूपमा हामी बेतुकको बहसमा अल्झिन चाहँदैनौँ,’ ओलीले भने।

एमालेले मानिरहेको जनताको बहुदलीय जनवाद विचारधाराका रूपमा विकास भइसकेको ओलीको दाबी थियो। ‘जबज ओठेभक्ति र स्वार्थ पूरा गर्ने भन्ने खालको मौकापरस्त होइन,’ उनले भने । जबजले नै अहिलेको अवस्थाको विकास र आधुनिकीकरणमा सहयोग पुर्याउने पनि ओलीले बताए।

सुझावित समाचार