इंग्ल्यान्डलाई पराजित गर्दै भारत आइसिसी टी–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा पुगेको हो ।
यससँगै अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्नेछ । फाइनल खेल भने भोलि राति हुनेछ । यसअघि भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका अफगानिस्तानलाई नौ विकेटले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा इंग्ल्यान्ड १६.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय तीन रनमा समेटिएको थियो ।
इंग्ल्यान्डका लागि ह्यारी ब्ररुकले १९ बलमा सर्वाधिक २५ रन बनाएका छन् । त्यस्तै, कप्तान जस बट्लरले १५ बलमा २३ रन जोडे । जोफ्रा अर्चरले २१ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादव र अक्षर पटेलले समान तीन–तीन विकेट लिए भने जसप्रित बुमराहले एक विकेट झारे ।
भारतको इनिङ्समा कप्तान रोहितले शर्माले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ३९ बलमा ६ चौका र दुई छक्कासहित सर्वाधिक ५७ रन बनाएका हुन् । त्यसैगरी सूर्यकुमार यादवले ४७, हार्दिक पाण्ड्याले २३ र रवीन्द्र जडेजाले १७ रन जोडे । इंग्ल्यान्डका लागि क्रिस जोर्डनले सर्वाधिक तीन विकेट लिएका थिए ।