कुन कार्यक्रममा जाँदा कसरी प्रस्तुत हुने, कस्ता कपडा लगाउने, कलर कम्बिनेसन कसरी गर्ने, बेल्ट, घडीलगायत एसिसरिजहरू कसरी कभर गर्ने भन्ने कुरामा युवा सचेत देखिन्छन् । फेसन डिजाइनरसँग परामर्श गरेर नै त्यहीअनुसार स्टाइल गर्नेहरूको संख्या पनि बढ्दो छ ।
फेसनलाई विगतमा ट्रेन्डका रूपमा पनि लिइन्थ्यो । मार्केटमा जे चल्यो, त्यही लगाउनुलाई फेसनेबल भनिन्थ्यो । तर, अहिले स्किन टोन, हाइट, फेसनको आकारलगायतले निर्धारण गर्छ । अरूले के लगाए भन्ने नभएर आफूलाई कस्तो सुहाउँछ र आरामदायी महसुस हुन्छ भन्ने कुराले अर्थ राख्छ । कसको व्यक्तित्व कुन डिजाइनले खुलाउँछ भन्ने विषय अध्ययन गरेर फेसन डिजाइनरले कपडामा स्टाइल दिन्छन् ।
कुनै पनि कार्यक्रमको माहोललाई बनाउनका लागि, गुड भाइभ्स, चार्मिङ क्रियट गर्नका लागि फेसनले महŒवपूर्ण भूमिका खेल्छ । मानिसमा आत्मविश्वास बढाउन पनि फेसनले भूमिका खेलिरहेको हुन्छ ।
क्रियटिभ फेसन डिजाइनरले स्किन टोन, हाइट, वेट हेरेर इलुजन क्रियट गर्ने क्षमता राख्छन् । जस्तो, मोटो मानिसलाई पनि कपडाले झट्ट हेर्दा पातलोजस्तो देखाउनुपर्यो । पातलो मानिसलाई पनि मोटोजस्तो देखाउन सक्नुपर्यो ।
मौलिक कपडाको प्रवर्द्धन आवश्यक
हाम्रो देश धेरै संस्कृतिले सुसज्जित छ । हरेक जातिको वेशभूषा र संस्कृति फरक छ । हाम्रा मौलिक कपडालाई नै हामीले रि–ब्रान्डिङ गर्न जरुरी छ । ती कपडालाई मर्म नमर्ने गरी फ्युजन गरेर लगाउँदा पनि राम्रो हुन्छ । यसो हुँदा हाम्रो संस्कृति पनि बाहिरसम्म प्रमोट हुन्छ ।
पछिल्लो समय नेपालमा कल्चरल फिल्महरू पनि बनेका छन् । विभिन्न जात–जातिका कथा आइरहेका छन् । कलाकारहरू सिनेमाको प्रिमियरमा जाँदा मौलिक पोसाकमै देखिन थालेका छन् । चाडपर्वहरूमा पनि मौलिक पहिरन लगाउन चाहने युवाको संख्या बढ्दो छ । फ्युजन फेसन पनि ट्रेन्डमा छ । आफ्नो पहिचान र संस्कृतिलाई कसरी जोगाउने भन्नेमा पनि युवाहरू सचेत भएको देखिन्छ ।
तर, नेताहरू अझै सचेत हुन आवश्यक देख्छु । नेताहरूले लगाउँदा देशको संस्कृति प्रभावकारी ढंगले प्रवर्द्धन हुन्छ । उहाँहरू विभिन्न कार्यक्रममा विदेश गइरहनुहुन्छ । त्यतिवेला तीन–चारवटा कार्यक्रम भएका हुन्छन् । कुनै भेटघाट वा औपचारिक कार्यक्रममा उहाँहरूले स्वदेशी कपडा लगाइदिने हो भने हाम्रो संस्कृतिको पनि प्रवर्द्धन हुन्छ । विदेशीले हाम्रो संस्कृतिलाई नजिकबाट चिन्ने मौका पाउँछन् ।
हामीले हाम्रा कपडालाई पनि निर्यात गर्न सक्यौँ भने सांस्कृतिक प्रवर्द्धनसँगै आर्थिक रूपमा पनि राम्रो लाभ मिल्छ । बंगलादेशले अहिले फेसन उद्योगबाटै आफ्नो अर्थतन्त्रलाई कहाँ पुर्याइसक्यो । यहाँ विश्वस्तरीय ब्रान्डले आफ्ना कपडा उत्पादन गर्छन् र त्यहीअनुसार बजारीकरण हुन्छ । कपडा बनाउने मात्रै होइन, कटन उत्पादनदेखि, त्यसबाट प्रशोधन, सिलाउने र त्यसलाई बेच्नेसम्मको काम हुन्छ । ठूलो संख्यामा मानिसले रोजगारी पाएका छन् ।
तसर्थ, फेसन युवा–युवतीलाई स्वरोजगार हुने अवसर पनि हो । यसका लागि राज्यले नीति बनाउनुपर्छ र घरेलु उद्योगलाई सहुलियत दिनुपर्छ भन्ने लाग्छ ।
फेसन उद्योगको अर्को विशेषता भनेको यसले विविध क्षेत्र र स्थानमा रोजगारी सिर्जना गर्छ । गाउँमा बस्नेले कटन उत्पादन गर्न सक्छ । काम खोज्न बाहिर निस्कनुपर्दैन । यातायात क्षेत्रमा पनि ठूलो संख्यामा मानिसले रोजगारी पाउँछन् । कारखानामा प्रशोधन गर्ने, स्टाइल र डिजाइन दिने, बजारीकरण गर्नेलगायत काममा ठूलो संख्यामा मानिस संलग्न हुन्छन् ।
अहिले फेसन डिजाइनिङमा युवाहरूको आकर्षण पनि बढ्दो छ । प्लस टु गरेर विदेश जान चाहनेहरू पनि फेसन डिजाइनिङ सिक्न आउने गर्नुहुन्छ, गृहणीहरूले पनि फेसन डिजाइनिङमा रुचि देखाइरहनुभएको छ । आर्थिक मन्दीको केही असर भए पनि फेसन डिजाइनिङमा आकर्षित हुने युवा–युवतीको संख्या राम्रै छ ।