सुदूरपश्चिममा पाँच मन्त्री जिम्मेवारीविहीन

विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिन केन्द्रमा गठबन्धनका शीर्ष नेताबीच हुने सहमतिको पर्खाइमा मुख्यमन्त्री

बिहिबार, १३ असार, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले दुई साता बित्दा पनि पाँच मन्त्रीको जिम्मेवारी तोक्न सकेका छैनन् । १० सदस्यीय मन्त्रिपरिषद्मा एमाले र माओवादीका दुई–दुई तथा एकीकृत समाजवादीका एक मन्त्री विनाविभागीय छन् । गत २८ जेठमा सातजना मन्त्री नियुक्त गरेर सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री सोडारी मन्त्रीको जिम्मेवारी तोक्न गठबन्धनको शीर्ष तहमा हुने सहमतिको पर्खाइमा छन् ।

विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिन मन्त्रालय फुटाउने गठबन्धनमा सहमति बनेको छ, तर कुन मन्त्रालय कसले लिने भन्ने सहमति भएको छैन । एमालेका वीरबहादुर थापा र हीरा सार्की, माओवादीका अक्कल रावल र लक्ष्मी विक तथा एकीकृत समाजवादीका माया पन्तले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । २८ जेठमै एमालेबाट सुरेन्द्रबहादुर पालले आर्थिक मामिला र माओवादीका ओमविक्रम भाटले सामाजिक विकास मन्त्रीको शपथ लिएका थिए । 

पाँचजना मन्त्री मन्त्रालयविहीन हुँदा दुई मन्त्रालय मन्त्रीविहीन छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सोडारीले आफूसँग राखेका छन् । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालय छन् । नागरिक उन्मुक्ति पार्टीबाट दुई मन्त्री छन् ।

मुख्यमन्त्री सोडारीले शपथ लिएकै दिन नागरिक उन्मुक्तिबाट कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका थिए । गठबन्धनमा आबद्ध दलहरूबीचको सहमतिअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि १८ वैशाखमा नागरिक उन्मुक्तिका टीका थापाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएकी थिइन् ।

मन्त्रालयको टुंगो नलागेपछि विनाविभागीय मन्त्रीहरू निवासमै कार्यकर्ताको बधाई थाप्ने गरेका छन् । ‘मन्त्रालयको जिम्मेवारी चाँडो टुंग्याइदिए हुन्थ्यो, जिम्मेवारी पाएपछि काम गर्न पनि सुरु गथ्र्यौँ,’ विनाविभागीय मन्त्री विकले भनिन्, ‘मन्त्री भएपछि भेट्न र बधाई दिन धेरैजना आउनुहुन्छ, कार्यालय भएको भए भेटघाट पनि सहज हुन्थ्यो ।’ अहिले निवासमै भेटघाट गर्ने गरेको उनले बताइन् ।

कुन पार्टीले कुन मन्त्रालय पाउने भन्ने भागबन्डा केन्द्रमै हुने भएकाले मुख्यमन्त्री सोडारी विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिन केन्द्रमा गठबन्धनको शीर्ष तहमा हुने सहमतिको पर्खाइमा छन् । केन्द्रको सहमतिअनुसार प्रदेशमा मन्त्रालयको जिम्मेवारी बाँडफाँड हुने भएकाले अधिकांश मन्त्री र सांसद अहिले काठमाडौं छन् । 

प्रदेश सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीको संसदीय दलका उपनेता प्रकाश रावलले गठबन्धनको सरकार भएकाले गठबन्धनमा सहमतिविना मुख्यमन्त्री एक्लैले जिम्मेवारी तोकेर जान सक्ने अवस्था नरहेको बताए । केन्द्रमा हुने सहमतिका आधारमा प्रदेशमा मन्त्रालय भागबन्डा र जिम्मेवारी निर्धारण हुने उनले बताए । ‘केन्द्रको बजेट पास भएपछि शीर्ष नेताहरू बसेर यहाँको विषय टुंग्याउने भन्ने छ,’ उपनेता रावलले भने, ‘जिम्मेवारी तोक्ने विषय केही दिनमै टुंंगिन्छ ।’ प्रदेशका महत्वपूर्ण निर्णय र सहमतिका लागि दलहरू केन्द्रको निर्णयमा निर्भर छन् ।

भागबन्डा  पुर्याउन मन्त्रालय विभाजन गरिँदै
रिक्त मन्त्रालय संख्या दुई र विनाविभागीय मन्त्री पाँच भएपछि प्रदेशमा मन्त्रालय फुटाउने तयारी छ । मुख्यमन्त्रीले स्वतन्त्र सांसद डा. तारा जोशीलाई पनि सरकारमा सहभागी गराउन खोजेका छन् । मुख्यमन्त्रीले उनलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गर्न खोजेका थिए, तर मन्त्रालय फुटाउँदा राज्यलाई व्ययभार बढ्ने भन्दै मन्त्री बन्न अस्वीकार गरे । उनी सरकारमा सहभागी हुन तयार भए तीनवटा मन्त्रालय फुटाउने तयारी रहेको बताइएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयलाई विभाजन गरेर ऊर्जा, खानेपानी तथा सिँचाइ क्षेत्र समेट्ने गरी अर्को मन्त्रालय बनाउने तयारी छ । सामाजिक विकास मन्त्रालयलाई स्वास्थ्य मन्त्रालय तथा शिक्षा, युवा र खेलकुद मन्त्रालय बनाउने गरी मस्यौदा तयार भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई वन, वातावरण र विज्ञान प्रविधि तथा उद्योग पर्यटन मन्त्रालय बनाउने तयारी छ । समाजवादीको संसदीय दलका उपनेता रावलले स्वतन्त्र सांसद जोशी सरकारमा सहभागी भए तीनवटा मन्त्रालय विभाजन गरिने बताए ।

प्रमुख प्रतिपक्षी कांग्रेसले भने भागबन्डा मिलाउन मन्त्रालय फुटाउन लागिएको भन्दै आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका नेता पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले सरकार जोगाउन मन्त्रालय फुटाएर आर्थिक भार उचित नभएको बताए । ‘मन्त्री छन् मन्त्रालय छैन, मन्त्रालय छ मन्त्री छैनन्, लामो समयदेखि मन्त्रालय रिक्त हुनु दुर्भाग्य हो,’ शाहले भने, ‘हाम्रो आर्थिक अवस्था राम्रो छैन, यसैमा मन्त्रालय फुटाएर अनावश्यक व्ययभार थप्ने काम राम्रो होइन । यसमा हाम्रो आपत्ति छ ।’ 

सुझावित समाचार