तेस्रो डुंगादौड प्रतियोगितामा सुनसरी प्रथम

मंगलबार, ११ असार, २०८१
डिजिटल संस्करण

तेस्रो राष्ट्रिय माझी डुंगादौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ । रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा सोमबार सम्पन्न उक्त प्रतियोगिताको ‘सिंगल’ विधातर्फ सुनसरीका चन्द्र माझी र जीवन माझीले तीन मिनेट तीन सेकेन्डमा डुंगालाई नदी वारपार गराई प्रथम हुन सफल भएका हुन् ।

यसैगरी तीन मिनेट १२ सेकेण्डमा ओखलढुंगाका कमल माझी र कुशल माझीले द्वितीय, तीन मिनेट १६ सेकेन्डमा रामेछाप मसानटारका सुनील माझी र उर्बे माझीले तृतीय  र तीन मिनेट २४ सेकेन्डमा नदी वारपार गरी  सिन्धुली खाङ्साङका पेशल माझी र डिल्ले माझीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । 

‘डबल’ विधातर्फ दुई मिनेट ४४ सेकेन्डमा सुनसरीको समूह प्रथम, दुई मिनेट ५० सेकेन्डमा रामेछाप राताटारको समूह द्विती, दुई मिनेट ५१ सेकेन्डमा ओखलढुंगाले तृतीय र सुनसरी ‘ए’ले दुई मिनेट ५३ सेकेन्डमा नदी वारपार गरी सान्त्वना स्थान हासिल गरेको थियो । 

उक्त प्रतियोगिताको ‘सिंगल’ विधामा दुईजना र ‘डबल’ विधामा चारजनाको समूह रहेका थिए । प्रतियोगितामा रामेछाप, सिन्धुली, दोलखा, सुनसरी र ओखलढुंगा जिल्लाका  खेलाडीको सहभागिता थियो । प्रतियोगितामा पाँच जिल्लाका डबल विधातर्फ २९ समूह र सिंगल विधातर्फ २६  समूहको सहभागिता रहेको कार्यक्रम संयोजक नवराज माझीले जानकारी दिए । विजयी प्रतियोगीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । 

उक्त खेलअन्तर्गत खेलाडीले प्रतिस्पर्धाका आधारमा डुंगालाई सेलेघाटस्थित तीन नदीको संगम त्रिवेणीको वारि किनारबाट पारि पुर्याई पुनः वारि नै ल्याउनुपर्ने प्रावधान रहेको थियो । माझी समुदायको परम्परागत पेसाका रूपमा पहिचान बनाएको डुंगा व्यवसायलाई राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलका रूपमा मान्यता दिएसँगै हरेक वर्ष  प्रतियोगिताको आयोजना हुँदै आएको छ । प्रतियोगिताको शुभारम्भ बागमती प्रदेशका खेलकुदमन्त्री रमा आलेले गरेकी थिइन् । 

सुझावित समाचार