त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हेलिकोप्टर उडान–अवतरण भक्तपुरमा स्थानान्तरण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट हुने हेलिकोप्टरको उडान–अवतरण भक्तपुरको नलिनचोकमा सारिएको छ । त्रिभुवन विमानस्थलको हवाई चाप कम गर्ने उद्देश्यसहित नलिनचोकमा निर्माण गरिएको होलिपोर्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नलिनचोक हेलिपोर्ट उद्घाटन गर्दै त्रिभुवन विमानस्थलको उडान चाप व्यवस्थापनमा हेलिपोर्ट सहयोगी हुने विश्वास व्यक्त गरे । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले टिआइए गुरुयोजनाअन्तर्गत ३३ रोपनी क्षेत्रफलमा १२ करोड लगानी गरेर हेलिपोर्ट सञ्चालनमा ल्याएको हो । क्यानका महानिर्देशक प्रदीप अधिकारीले हेलिपोर्ट सञ्चालनमा आएसँगै त्रिभुवन विमानस्थलको उडान चाप व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्रिभुवन विमानस्थलबाट पहिलोपटक हेलिपोर्ट बाहिर सारिएको हो । नेपालमा हेलिकोप्टर सेवा सुरु भएको ५८ वर्ष भयो । तत्कालीन शाही नेपाल वायुसेवा निगमले २०२३ मा हेलिकोप्टर सेवा सुरु गरेको थियो । अहिले हेलिकोप्टर सेवाप्रदायक १२ पुगेका छन्, जसका ३४ हेलिकोप्टर छन् । तर, हेलिकोप्टर सेवाको सुरुवातकर्ता निगमले सेवा बन्द गरिसकेको छ ।
नलिनचोकमा १३ वटा हेलिकोप्टर पार्किङ गर्न मिल्ने र एकैपटक चारवटा हेलिकोप्टर उडान–अवतरण गर्न मिल्ने क्षमता रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । नलिनचोक हेलिपोर्टको व्यवस्थापन त्रिभुवन विमानस्थलकै टिमले गर्नेछ । यस्तै, त्रिभुवन विमानस्थलकै टावरबाट सञ्चार सम्पर्क व्यवस्थापन हुने उनको भनाइ छ ।
क्यानका महानिर्देशक अधिकारीले हेलिकोप्टर सेवाप्रदायक कम्पनीलाई पनि सहज रूपमा सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै, स्थानीयले पनि यसबाट लाभ लिन सक्ने उनको अपेक्षा छ । देशको नागरिक उड्डयन सेवालाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउन पूर्वाधार विस्तारसहित विभिन्न काम अगाडि बढाइएको उनको भनाइ छ ।
‘अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भइरहेको र जहाज तथा हेलिकोप्टरको सख्या पनि बढिरहेको सन्दर्भमा यो हेलिपोर्ट सान्दर्भिक हुनेछ,’ पर्यटनमन्त्री तामाङले भने, ‘क्यानले निर्माण गरेको यो हेलिपोर्ट पूर्वी भेगको उडानका लागि उपयुक्त हुनेछ ।’ उनले भक्तपुरमा पहिलोपटक सुविधायुक्त हेलिपोर्ट व्यावसायिक रूपमा सञ्चालनमा आउनु उड्डयन क्षेत्रकै लागि उपलब्धिमूलक भएको बताए ।
हेलिपोर्ट सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा सहज हुने क्यानको अपेक्षा छ । उद्घाटनको अवसरमा विभिन्न वायुसेवा कम्पनीका हेलिकोप्टर अवतरण गराइएको थियो । ‘होलिपोर्ट स्थानान्तरण भएपछि त्रिभुवन विमानस्थलको हवाई चाप कम गर्न केही सहयोग पुग्नेछ,’ महाप्रबन्धक निरौलाले भने, ‘हेलिकोप्टर सेवाप्रदायकलाई पनि उडान–अवतरण गर्न सहजता हुनेछ, किनभने पालो कुर्नुपर्दैन ।’ त्रिभुवन विमानस्थल विस्तार गुरुयोजनाअनुसार अहिलेको हेलिपोर्टमा ह्यांगर बनाउने तयारी छ ।