चारजना विदेशी नागरिकबाट एक सातामा झन्डै १६ करोडको कोकिन बरामद
लागुऔषध तस्करले कपडामा प्रयोग हुने टाँकमा लुकाई कोकिन तस्करी गर्ने गरेको खुलेको छ । महिलाले लगाउने टिसर्टको टाँकमा तस्कर गरिएको दुई किलो १० ग्राम कोकिन फेला परेपछि यो तथ्य खुलेको हो ।
लागुऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत ३० जेठमा बोलेभियन नागरिक ३३ वर्षीया लाउरा क्रुज निकोनालाई पक्राउ गरेको थियो । उनले लगाउने पहेँलो र रातो रङको टिसर्टमा प्रयोग गरिएको टाँकभित्र कोकिन फेला परेको थियो । ब्युरोका सहप्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले टाँकभित्र लुकाई कोकिन तस्करी हुने गरेको तथ्य अनुसन्धानबाट खुलेको बताए । ‘क्याप्सुल बनाएर निल्ने र कोकिन तस्करी गर्ने ट्रेन्ड त पुरानै हो । तर, कपडामा लगाइएका टाँकभित्र पनि कोकिन तस्करी हुने गरेको हालसम्म फेला परेको थिएन । तर, गत ३० जेठमा महिलाले लगाएको टिसर्टमा टाँक हेर्दा आकर्षक देखिन्थे । खोलेर हेर्दो कोकिन फेला पर्यो,’ उनले भने ।
डिएसपी प्रेमबहादुर शाही, सहप्रवक्ता, लागुऔषध नियन्त्रण ब्युरो
क्याप्सुल बनाएर निल्ने र कोकिन तस्करी गर्ने ट्रेन्ड त पुरानै हो । तर, कपडामा लगाइएका टाँकभित्र पनि कोकिन तस्करी हुने गरेको हालसम्म फेला परेको थिएन । तर, गत ३० जेठमा महिलाले लगाएको टिसर्टमा टाँक हेर्दा आकर्षक देखिन्थे । खोलेर हेर्दो कोकिन फेला पर्यो ।
प्रहरीका अनुसार निकोना इमिरेट्सको उडानबाट ब्राजिलबाट काठमाडौं आएकी थिइन् । विमानस्थलमा उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । झोला खनतलासी गर्दा पहेँलो र रातो रङका एक सय २१ वटा टिसर्ट फेला परेको थियो । टिसर्टमा अस्वाभाविक ढंगले धेरै टाँक लगाइएका थिए । शंकास्पद देखिएपछि प्रहरीले टाँकको परीक्षण गरेको थियो । यसक्रममा प्रहरीले टाँकको कपडा च्यातेर हेर्दा स्टिलको पाता देखियो, फोरेर हेर्दा भित्र कोकिन भेटिएको थियो । ‘टिसर्टमा धेरै टाँक देखिएपछि शंका लाग्यो । टाँकलाई बाहिर कपडाले ‘कोट’ गरिएको देखियो । ‘कोट’ उदारेर हेर्दा स्टिलका स–साना पाता फेला परे । पाता फोरेर हेर्दा कोकिन फेला परे । तस्करले प्रयोग गरेको यो नौलो तरिका हो,’ एसपी शाहीले भने ।
प्रहरीका अनुसार बरामद कोकिनको अवैध बजार मूल्य सात करोड ३४ लाख ८१ हजार रुपैयाँ पर्छ । प्रहरीले कोकिन तस्करीमा संलग्न विभिन्न देशका थप तीनजनालाई पनि पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले दुई किलो चार सय चार ग्राम कोकिन बरामद गरेको छ । बरामद कोकिनको अवैध बजार मूल्य आठ करोड ४१ लाख १८ हजार रुपैयाँ रहेको छ । पक्राउ पर्नेमा तान्जानियन नागरिक ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, भेनेजुलियन नागरिक ३९ वर्षीय सिमाने एन्टिनियो अल्फोन्जा राडा र भारत मिजोरोमकी २७ वर्षीय लाल रुत्साङ्गी छिन् । चारजनाबाट सात दिनमा विमानस्थलबाट मात्रै १५ करोड ७६ लाख मूल्यबराबरको चार किलो पाँच सय चार ग्राम कोकिन फेला बरामद भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार डोनाल्डले निलेर एक किलो दुई सय ६ ग्राम कोकिन इथोपियाबाट नेपाल ल्याएका थिए । उनलाई प्रहरीले गत २७ जेठमा ठमेलबाट पक्राउ गरेको थियो । त्यस्तै, सिमोनलाई प्रहरीले काठमाडौं महानगरपालिका– २६ स्थित होटेलबाट पक्राउ गरेको थियो । उनले पनि निलेर एक किलो एक सय ९८ ग्राम कोकिन ब्राजिलको सापाउलोबाट नेपाल ल्याएकी थिइन् ।