गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएर पार्टीको ह्विप उल्लंघन गरेको भन्दै माओवादीबाट कारबाहीमा परेका प्रदेश सभा सदस्य फणीन्द्र देवकोटा सर्वोच्च अदालत पुगेका छन् ।
उनले माओवादीले आफूलाई पदमुक्त गरेको निर्णय बदर हुनुपर्ने भन्दै अन्तरिम मागसहित बिहीबार सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । देवकोटाको निवेदनको पेसी ९ असारलाई तोकिएको छ ।
देवकोटाले गण्डकीका सभामुख कृष्णप्रसाद धिताल, माओवादी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमान, निर्वाचन आयोगसहित ६ जनालाई विपक्षी बनाएका छन् ।
माओवादीको चुनाव चिह्न लिएर निर्वाचन लडेका नेपाल समाजवादी पार्टीका नेता देवकोटा गोरखा २ (१) बाट निर्वाचित भएका थिए । उनले गत २८ जेठमा मुख्यमन्त्री पाण्डेको पक्षमा विश्वासको मत जाहेर गरेका थिए । देवकोटाले मत दिएपछि पाण्डेलाई आवश्यक बहुमत पुगेको थियो ।
माओवादी संसदीय दलले ह्विप उल्लंघन गरेपछि देवकोटालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनले दिएको स्पष्टीकरण सन्तोषजनक एवं कानुनसंगत नभएको भन्दै माओवादीले पदमुक्त गर्ने पत्र गण्डकी प्रदेश सभा सचिवालयमा ३२ जेठमा दर्ता गरेको थियो । ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले देवकोटालाई माओवादीले पदमुक्त गरेको पत्र पढेर सुनाएपछि उनी पदमुक्त भएका थिए ।