लमजुङमा दुईजना युवामाथि खुकुरी प्रहार भएको छ। मंगलबार दिउँसो करिब ३ बजेतिर सुन्दरबजार नगरपालिका–९ बगैँचास्थित इलाका प्रहरी कार्यालय भोटेओडारनजिकै दुईजना युवामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।खुकुरी आक्रमणबाट दुधपोखरी गाउँपालिका– ६ गौडानिवासी ४२ वर्षीय लीलाजंग गुरुङ गम्भीर घाइते र दोर्दी गाउँपालिका–४ निवासी ४० वर्षीय मंगलराज गुरुङ सामान्य घाइते भएका छन्।
लीलाजंगको टाउकोको अगाडिको भागमा गम्भीर चोट लागेको छ। गम्भीर घाइते उनलाई भोटेओडार अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ। मंगलराज भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले सुन्दरबजार नगरपालिका– ९ बालुने टोलका आकाश भन्ने ३० वर्षीय केशव घले, दोर्दी गाउँपालिका– ५ पाचोकका ३६ वर्षीय भीमसेन गुरुङ, दोर्दी गाउँपालिका– ६ ताँजेका ३१ वर्षीय पूर्णबहादुर तामाङ र दोर्दी गाउँपालिका ७ लप्सीबोटका ३८ वर्षीय प्रवीण गुरुङलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार युवाहरूबीच पुरानो रिसइबीको कारण झगडा भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनामाथि जिल्ला अदालतबाट ज्यान मार्न उद्योग मुद्दामा सात दिनको अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।