जीर्ण आयोजना मर्मतमा सिँचाइ कार्यालयको बेवास्ता, किसानलाई रोपाइँ गर्ने चिन्ता

मंगलबार, ४ असार, २०८१
डिजिटल संस्करण

बाराको बारागढी गाउँपालिका– ५ सिहासनीको छौघाट सिँचाइ आयोजना जीर्ण बनेपछि किसान चिन्तामा छन्। स्थानीय किसान दिनेश चौधरी समयमा धान रोपाइँ गर्न नसकिने हो कि भन्ने चिन्तामा पर्न थालेका छन्।

‘जीर्ण बनेको सिँचाइ आयोजनाबाट पर्याप्त पानी आउन छोडिसक्यो,’ उनले भने, ‘वर्षाको पानीको भर छैन, अब कसरी खेती उतार्ने होला।’ समयमै बाली लगाउन सकिएन भने वर्षभरि खान र परिवारको गुजारा चलाउन समस्या हुने उनले सुनाए।

चौधरीजस्तै गाउँका सयौँ किसानलाई यतिवेला यो वर्ष धान रोपाइँ गर्ने चिन्ताले सताउन थालेको छ। खोलामा पानी भएर पनि पुरानो बाँध र नहरका कारण धेरै पानी खेर गएकाले खेतमा सिँचाइ गर्न नपाएको अर्का किसान रामेश्वर साहले बताए।

‘सिँचाइ कार्यालय वा पालिकाले नै भए पनि मर्मत गरिदिए हुन्थ्यो,’ उनले भने, ‘तर, किसानको यो समस्यामा कसैले पनि चासो देखाएका छैनन्।’ गाउँ भएर बग्ने जमुनी नदीको शाखा नदीमा ०५० सालमा निर्माण भएको सिँचाइ आयोजनाबाट बारागढी गाउँपालिकाको बैरिया, सिहासनी, मलाहीलगायत दर्जनौँ गाउँका ६ सयभन्दा बढी किसानले सिँचाइ सुविधा लिँदै आएका छन्।

तर, पछिल्लो समय मर्मत अभावमा किसानले पर्याप्त सुविधा प्राप्त गर्न नसकेका हुन्। जीर्ण बाँध र नहरका कारण आयोजनाबाट ठूलो परिमाणमा पानी चुहिएर खेर गएको छ। आयोजनाले बनाएको पक्की बाँध र नहरको पर्खालबाट चुहिएर पानी खेर गएको हो भने नदीको सतह उकासिएर बाँधको हेड पनि होचो भएको छ।

जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय बारालाई पटकपटक आग्रह गर्दासमेत मर्मतका लागि बेवास्ता गरेको छौघाट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष रामबाबु साह तेलीको भनाइ छ। ‘सिँचाइ आयोजनाको मर्मतका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बारामा एक वर्षदेखि आग्रह गर्दैआएका छौँ,’ उनले भने, ‘तर, कार्यालयले किसानका लागि एक पैसा पनि बजेट दिएको छैन।’

बाँध, पैनीको मर्मत नहुँदै धान रोपाइँ गर्ने समय आएपछि यो वर्ष अब खेती कसरी उतार्ने भन्ने कुरामा किसान चिन्तित बनेको उनले सुनाए। सिँचाइले धार परिवर्तन गरी बाँध भत्काएको एक वर्ष भए पनि निर्माण नहुँदा किसान मर्कामा परेका हुन्।

सुझावित समाचार