छत्रकोटको नीति : ‘रुरु रेसुंगाको धार्मिक आस, छत्रकोटमै बसौँ वास’

मंगलबार, ४ असार, २०८१
डिजिटल संस्करण

छत्रकोट गाउँपालिकाकाे नीति तथा कार्यक्रम पास भएकाले आगामी असार १० गते बजेट ल्याउने तयारी

गुल्मीको छत्रकोट गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्न ‘रुरु रेसुंगाको धार्मिक आस, छत्रकोटमै बसौँ वास’ भन्ने नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले १८औँ गाउँ सभामा पेस गरेको ९४औँ बुँदामा ‘रुरु रेसुंगाको धार्मिक आस, छत्रकोटमै बसौँ वास’ अभियानमार्फत छत्रकोट गाउँपालिका– २ पल्लिकोटमा व्यवस्थित होमस्टे सञ्चालन गर्ने र सुविधासम्पन्न होटेल सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति उल्लेख छ । 

त्यस्तै, नीति तथा कार्यक्रमको बुँदा नम्बर २८ मा ‘छत्रकोट घुमाैँ अभियान’ पनि उल्लेख छ । जसमा पालिकाका सबै वडामा रहेका धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, संवर्द्धन र प्रचारप्रसार गरेर आन्तरिक पर्यटनलाई थप प्रभावकारी बनाउने बताइएको छ । 

छत्रकोटको सबैभन्दा ठूलो पर्यटकीय तथा धार्मिक क्षेत्र छत्रकोट देवालय हो । यसलाई छत्रकोटले गौरवको योजनाको रूपमा पनि अगाडि सारेको छ । यो वर्ष छत्रकोट देवालय मन्दिर–भगवती मन्दिर–लुम्छा जिपलाइन निर्माण कार्य सम्पन्न गर्ने गरी नीति कार्यक्रम बनेकाले सोहीअनुसार बजेट व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष पाण्डेयले बताए । 

साथै, छत्रकोट– ३ भेँडुवाको राममन्दिरदेखि चोयगा मन्दिरसम्म पर्यटकीय आकर्षणका लागि झोलुंगे पुल निर्माण गरिने पाण्डेयले बताए । छत्रकोट गाउँपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि कृषि, पर्यटन र स्वास्थ्यसहितको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिए । नीति तथा कार्यक्रम पास भएकाले सोही आधारमा आगामी असार १० गते बजेट ल्याउने पुनले बताए ।

सुझावित समाचार