नेकपा एकीकृत समाजवादीले आगामी ५ असारमा महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ । आगामी १६ देखि २० असारमा काठमाडौंमा हुने दशौँ महाधिवेशनका लागि देशभर एकैदिन महाधिवेशन प्रतिनिधि छनोट गर्न अध्यक्ष माधव नेपालले निर्देशन दिएका छन् ।
केन्द्रीय सचिवालयको पछिल्लो निर्णयलाई शुक्रबार अन्तरपार्टी निर्देशन (अपानि)मार्फत जारी गर्दै अध्यक्ष नेपालले अबउप्रान्त पार्टीका सबै काम महाधिवेशनकेन्द्रित भएको प्रस्ट्याउँदै प्रतिनिधि छनोटको कार्यविधिसमेत जानकारी गराएका हुन् । जसअनुसार डेढ लाख पार्टी सदस्यबाट ५ असारमा सबै निर्वाचन क्षेत्र, जनवर्गीय संगठन, प्रवास, सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटीहरूबाट प्रतिनिधि छनोट हुनेछन् । त्यसअघि ४ असारमा मतदाता नामावली प्रकाशन हुने र ५ असारमा उम्मेदवारी मनोनयन, दाबी–विरोध, फिर्ता र मतदान हुने कार्यतालिकासहितको कार्यविधि अपानिमार्फत सम्बन्धित कमिटीहरूमा पठाइएको छ ।
केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्यहरू आयोजकको हैसियतमा स्वतः राष्ट्रिय महाधिवेशनका प्रतिनिधि हुनेछन् । महाधिवेशनमा सबै नेताहरू वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने भनिए पनि सचिवालयको पछिल्लो बैठकले केन्द्रीय सदस्य र केन्द्रीय आयोगका सदस्य भने आयोजकको हैसियतमा स्वतः महाधिवेशन प्रतिनिधि हुने निर्णय गरेको हो । दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चुनिनका लागि पार्टीको संगठित पार्टी सदस्यता प्राप्त गरी कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने अपानिमा उल्लेख छ ।
प्रतिनिधि चयनका लागि आवेदन शुल्क न्यूनतम दुई सय हुने र महाधिवेशन प्रतिनिधि शुल्क एक हजार र आयोजक प्रतिनिधिहरूको प्रतिनिधि शुल्क पाँच हजार हुने अपानिमा उल्लेख छ । आयोजक र मतदानमार्फत चुनिने प्रतिनिधिसहित एक हजार आठ सय ७८ जना प्रतिनिधिले महाधिवेशनमा सहभागी हुने नेकपा एसले जनाएको छ ।