चितवनका सरकारी अस्पतालको निरीक्षणमा स्वास्थ्यमन्त्री यादव

जनशक्ति थप्नेदेखि उपकरण खरिदका लागि बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता

शुक्रबार, ३२ जेठ, २०८१
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले चितवनका सरकारी अस्पतालको निरीक्षण गरेका छन्। शुक्रबार चितवन पुगेका मन्त्री यादवले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, केन्द्रीय अस्पतालको रूपमा भरतपुर अस्पतालको सेवा प्रवाहको अनुगमन गरेका हुन्।
 
निरीक्षणका क्रममा मन्त्री यादवले दुवै अस्पतालमा उपचार गराइरहेका बिरामी, कुरुवासहित अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी, अन्य स्वास्थ्यकर्मी र अस्पताल सञ्चालक समितिका पदाधिकारीहरूसँग छलफल गरेका छन्।

‘छलफलका क्रममा अस्पताललाई सेवा प्रवाहका क्रममा आइरहेको विभिन्न समस्याबारे बुझेँ। अस्पतालमा उपकरण, जनशक्ति र बजेट अभावमा कारण पनि समस्या आइरहेको पाएँ। त्यस्तै, फार्मेसीमा पनि पर्याप्त औषधि उपलब्ध नरहेको देखियो,’ उनले भने। 

मन्त्री यादवले नेपालसहित भारतसमेतबाट आउने क्यान्सररोगीहरूको उपचारको केन्द्रका रूपमा स्थापित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई पूर्ण रूपले सबल बनाउन आवश्यक जनशक्ति थप्नेदेखि उपकरण खरिदका लागि बजेटको व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहेको बताए। 

त्यस्तै, औषधि अभावको समस्यालाई तत्कालै समाधान गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएको उनले जानकारी दिए। 
भरतपुर अस्पतालमा नर्सिङ कक्षामा अध्ययनरत विद्यार्थीले भोग्नुपरेको समस्याबारे जानकारी लिएको भन्दै मन्त्री यादवले सीमित स्रोतका बाबजुद पनि अस्पतालले दिइरहेको सेवा प्रशंसनीय रहेको बताए। 

‘यस अस्पतालको सेवा प्रवाहका क्रममा जनशक्ति र जग्गा अभावमा कारण आएका चुनौतीलाई सम्बोधन गर्न म कटिबद्ध छु,’ उनले भने। 

अस्पताललाई यसै वर्षदेखि एमबिबिएस, एमडिएमएसलगायत कक्षा सञ्चालन गर्न र तत्कालै हुन सक्ने कामहरूको थालनी गर्न मन्त्रालयका सचिवलगायतका कर्मचारीलाई निर्देशन दिएको उनले जानकारी दिए।

सुझावित समाचार