गणतन्त्रप्राप्तिपछि देश विकासमा फड्को : अध्यक्ष राउत

शुक्रबार, ३२ जेठ, २०८१
डिजिटल संस्करण

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले गणतन्त्र प्राप्तिपछि देशको विकासले फड्को मारेको बताएका छन्।

गणतन्त्र दिवस– २०८१ को अवसर पारेर राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको शुक्रबार अवलोकनपश्चात् अध्यक्ष राउतले गणतन्त्रपछिको उपलब्धिलाई राससमा प्रदर्शित तस्बिरले चित्रित गरेको उल्लेख गरे।

‘गणतन्त्र प्राप्तिपछिको उपलब्धिलाई समेटेर राससले गरेको तस्बिर प्रदर्शनी आफैँमा महत्त्वपूर्ण छ । यसले गणतन्त्रपछि विकास र आर्थिक समृद्धिको यात्रामा मुलुक अगाडि बढेको छ भन्ने सन्देश दिएको छ,’ अध्यक्ष डा. राउतले भने, ‘गणतन्त्र आइसकेपछि यसबारे नयाँ पुस्तामा गणतन्त्रको विरुद्धमा भाष्यहरू सिर्जना गर्ने काम भइरहेका छन् । अनेक भ्रम फैलाएर निराशाको वातावरण सिर्जना गर्ने काम भएको छ । त्यस्तो पृष्ठभूमिमा राससको तस्बिर प्रदर्शनीले सकारात्मक भूमिका खेल्ने मैले अपेक्षा गरेको छु।’

विगत एक दशकको तुलना गर्दा नेपालको जलविद्युत्, शिक्षालगायत क्षेत्रमा तीव्र गतिमा विकास भइरहेको र एक किसिमले देशको विकासले फड्को मारेको अध्यक्ष डा. राउतको भनाइ थियो । उनले गणतन्त्र प्राप्तिपछिको समयमा विकास र पूर्वाधारको क्षेत्रमा कति प्रगति भएको छ भन्ने विषयलाई पनि राससको तस्बिर प्रदर्शनीले उजागर गरेको उल्लेख गरे।

विगत दुई सय वर्षमा जति सडक सञ्जाल निर्माण गरिएको थियो त्योभन्दा कैयौँ गुणा यो पछिल्लो ६–७ वर्षमा तीन तहका सरकार आइसकेपछि बनेका उनले बताए। गाउँघरमा सडक, शिक्षा, स्वास्थ्यलगायत नागरिकका आधारभूत सेवा सुनिश्चित भएको सन्दर्भमा गणतन्त्रको सकारात्मक उपलब्धिप्रति खासगरी नयाँ पुस्ताले चासो राख्नुपर्ने अध्यक्ष डा. राउतको धारणा छ।

सुझावित समाचार