नेकपा एमालेका सांसद एकनाथ ढकालले राजनीतिक भागबन्डाका आधारमा राजदूत नियुक्त नगर्न माग गरेका छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद ढकालले राजदूत फिर्ता बोलाउने सरकारको अधिकार रहेको भन्दै खाली भएका देशहरूमा नियुक्तिका लागि सरकारले विलम्ब गर्न नहुने बताए।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य रहेका सांसद ढकालले परराष्ट्र मन्त्रालयको निर्देशिकाअनुसार योग्यता, क्षमता, दक्षता र अनुभवका आधारमा राजदूत नियुक्त गर्न माग गरे।
सरकारको नीति तथा कार्यक्रममा परराष्ट्रतर्फ आर्थिक कूटनीति, ट्रयाक टु डिप्लोमेसीलाई बढावा दिने उल्लेख गरिएको स्मरण गराउँदै उनले आर्थिक कूटनीतिमा भूमिका खेल्न सक्ने, ट्रयाक टु डिप्लोमेसीलाई अघि बढाउन सक्ने र उच्चस्तरीय भ्रमण गराउन सक्ने क्षमता र योग्यता भएका कुशल व्यक्तिलाई राजदूत नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराए।